पहिलोपटक पत्रकार महासंघको प्रत्यक्ष निर्वाचन आज, इलाममा भट्टराई र तिमसिनाबीच प्रतिस्पर्धा

  नयाँ बुलन्द
0 Shares

इलाम : नेपाल पत्रकार महासंघको २६ औं महाधिवेसनअन्तर्गत आज   (बुधबार) इलामलगायत देशभर एकसाथ निर्वाचन हुँदैछ ।

नेतृत्व चुन्न देशैभर एकसाथ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचन गर्न लागिएको हो । केन्द्रीय, प्रदेश, जिल्ला र सम्बन्धित शाखाहरुको नेतृत्व चयनका लागि महासंघले एकसाथ मतदानको व्यवस्था मिलाएको हो ।

देशभरका करिब एक सय मतदान केन्द्रमा महासंघका १३ हजार सदस्यले मत दिने व्यवस्था मिलाइएको केन्द्रीय निर्वाचन समितिका संयोजक कपिल काफ्ले जानकारी दिए ।

महासंघको नेतृत्वमा पुग्न विभिन्न राजनीतिक दलनिकट पत्रकारका संगठनहरुले प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । यस्तो प्यानल केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै शाखाहरुसम्म बनेको छ ।

अध्यक्षदेखि सदस्यसम्म विभिन्न पदका लागि हुने निर्वाचनमा कतिपय स्थानमा भने निर्विरोध घोषणा पनि गरिसकिएको छ ।

यता इलाममा भने अध्यक्षमा दुई जनाबीच प्रतिष्पर्धा हुँदैछ । नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस मञ्च नेपालको संयुक्त गठबन्धनबाट युनियनका युवराज भट्टराई (विप्लव) र प्रेस संगठन नेपालका सुजन तिमसिनाबीच प्रतिष्पर्धा हुँदैछ । दुवैले आफ्नो जित हुने दावी गर्दै आएका छन् । भट्टराई कान्तिपुर मिडिया ग्रुपमा आवद्ध छन् भने तिमसिना नेपाल टेलिभिजनमा आवद्ध छन् ।

त्यस्तै महिला उपाध्यक्षमा संयुक्त प्यानलबाट प्रेस युनियनका सुनिता खालिङ राई र प्रेस संगठनका बुद्धमाया सोङ्मीबीच प्रतिष्पर्धा हुँदैछ । सहसचिवमा संयुक्त गठबन्धनबाट प्रेस युनियनका प्रेम अधिकारी र प्रेस संगठनका राजेश पराजुलीबीच प्रतिष्पर्धा हुँदैछ । इलाममा १ सय ७५ जना मतदाता रहेका छन् ।

अन्य ३२ वटा पदमा भने संयुक्त प्यानलका तर्फबाट उम्मेद्वार भएकाहरु निर्विरोध निर्वाचित भइसकेका छन् । कार्यसमितिका १८ मध्ये १५, केन्द्रीय परिषद सदस्य ५ मा सबै र प्रदेश परिषद सदस्य १२ मा सबै निर्विरोध निर्वाचित भइसकेका छन् ।

संयुक्त प्यानलबाट उपाध्यक्षमा प्रेस चौतारीका ख्याम भुजेल, सचिवमा प्रेस चौतारीकै भीम चापागाई, सहसचिव (समावेशी) मा प्रेस मञ्‍चका ज्ञानु लिम्बू र कोषाध्यक्षमा प्रेस मञ्‍चकै राम योङहाङ निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै महिला सदस्यमा प्रेस चौतारीका सुजाता सुनुवार, दलित सदस्यमा प्रेस युनियनका तीलबिक्रम दर्जी, जनजाति सदस्यमा प्रेस मञ्चका काकीराम लावती र समावेशी सदस्यमा प्रेस चौतारीका भगीरथ भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

खुल्ला सदस्यहरुमा प्रेस चौतारीका रमेशकुमार पराजुली, गोविन्द भट्टराई र किरण पौड्याल, प्रेस युनियनका गणेश घिमिरे, लोकेन थेवे, टीका खतिवडा र बालकृष्ण बस्नेत निर्वाचित भएका छन् ।

पाँच जना केन्द्रीय परिषद सदस्यमा प्रेस युनियनका प्रभाकर प्रधान र विजयशेखर भट्टराई, प्रेस चौतारीका कोशिला खिम्दुङ राई, राजकुमार दाहाल र शिव मुखिया निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै १२ जना प्रदेश परिषद सदस्यमा प्रेस युनियनका गोविन्द पौडेल, जीवन शर्मा, दिनेशकुमार महत र वेदमाया मुखिया (सोनु), प्रेस चौतारीका गोविन्द लामिछाने, सोमनाथ सुनुवार, विमल दाहाल, योगेन्द्र शंकर र रीता राई, प्रेस मञ्‍चका प्रविण सेलिङ, सङसेमी माङयुङ र सरीता राई निर्विरोध निर्वाचित भएका छन् ।

उता महासंघको केन्द्रीय समितिको ४९ पदाधिकारीका लागि मतदान हुनेछ भने प्रदेश र शाखाहरुले पनि आ–आफ्ना समिति निर्माणका लागि निर्वाचन गराउने छन् । निर्वाचनमा १३ हजार १२२ मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन् ।

केन्द्रीय समितिको नयाँ नेतृत्वका लागि विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित चुनावी मैदानमा रहँदा गजेन्द्र बुढाथोकी महासंघमा शुद्धीकरणको नारासहित चुनावी प्रतिष्पर्धामा छन् । उम्मेदवारहरुले श्रमजिवी पत्रकारको पेशागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य मुद्दा बनाएका छन् ।

प्रेस युनियन, प्रेस संगठन र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारका रुपमा पोखरेल, प्रेस चौतारी (ओली समूह), प्रेस मञ्‍च नेपालसहितको गठबन्धनको उम्मेदवारको रुपमा शर्मा र स्वतन्त्र रुपमा अध्यक्ष पदका लागि बुढाथोकी मैदानमा छन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट प्रतिष्पर्धामा रहँदा समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंह चुनावी प्रतिस्पर्धामा छन् । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी प्रतिष्पर्धा गर्दा महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुवोध गौतम भिड्दै छन् ।

विहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म मत दिने व्यवस्था मिलाइएको छ भने मतदानका लागि कुनै आधिकारिक परिचय पत्र वा नागरिकता चाहिने व्यवस्था गरिएको संयोजक काफ्ले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार