माङमालुङमा अचम्मको ढुङ्गा : औँलाले नै हल्लाउन सकिने तर हटाउन नसकिने

  नयाँ बुलन्द
56 Shares

इलाम । अङ्गालोले फेरो पुर्‍याएर उचाल्न नसक्ने विशाल ढुङ्गा एउटै औंलाले हल्लाउन सकिन्छ भन्दा अचम्म लाग्न सक्छ ? इलामको माङसेबुङमा पर्ने माङमालुङले जो कोहीलाई अचम्मित बनाइ रहेको हुन्छ । तर यसको प्रचारप्रसार र भौतिक पूर्वाधारको अभाव हुँदा ओझेलमा पर्दै गएको छ ।

धार्मिक तथा पर्यटकीय महत्व बोकेको माङमालुङ इलाम सदरमुकामदेखि करिब १५ कोष पश्चिममा रहेको छ । समुन्द्री सतहबाट २ हजार १ सय मिटरको उचाइमा पर्ने माङमालुङ प्राकृतिक सुन्दरताले पनि उतिकै भरिपूर्ण छ । पश्चिमी इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ र ६ को संगम स्थलमा रहेको माङमालुङको छुट्टै मौलिक पहिचान छ । माङमालुङ ऐतिहासिक, प्राकृतिक, पुरातात्विक, पर्यटकीय महत्व बोकेको धार्मिक तीर्थस्थल पनि हो । विविधत प्राकृतिक मनमोहकतामा रमाउनु माङमालुङ घुम्न आउनुको विशेषता नै हो ।

धार्मिक तीर्थस्थलमा रहेको यो अनौठो ढुङ्गाको रहस्य त झन अचम्मको छ । जसले आगन्तुकलाई आश्चर्यचकित पारेको हुन्छ । एक औंलाले हल्लाउन सकिने यो ढुङ्गालाई चक्रशिला भनिएको छ । यहाँ रहेको ढुङ्गाको बेग्लै आकर्षण छ । गोही आकारको ढुङ्गामाथि अडिएर रहेको यो ढुङ्गालाई एक औंलाले सजिलै हल्लाउन सकिन्छ तर त्यहाँबाट हटाउन भने नसकिने स्थानीय युवा देवाहाङ्ग राईको भनाइ छ ।

यो मुख्य ढुंगासँगै विभिन्न आकृतिका अन्य ढुङ्गा पनि यहाँका आकर्षण हुन् । यी शिला पत्थरमा पनि विभिन्न आकृति प्राकृतिक रूपमा कुँदिएका छन् । यहाँका शिला पत्थरमा कँुदिएका विभिन्न पशु पन्छीदेखि र देवीदेवताको आकृति हेर्दा यो ठाउँ अदभूत स्थल हो भन्ने भान गराउँछ । हिउँदमा सडक सहज भए पनि बर्खामा यहाँ सम्म पुग्न धेरै चुनौती रहेको छ ।

प्रचारप्रसारको कमिका कारण ओझेलमा रहेको माङमालुङ खासगरी धार्मिक पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । यहाँ विगत साढे तीन दशकयता उभौली र उधौली गरी वर्षमा दुई पटक विशेष पूजा पाठ गरिन्छ । खासगरी यो ठाउँ अहिंसोपाषक गुरु ज्योतिनन्दको तपस्यास्थल हो । महाप्रभु ज्योतिनन्दपछि अन्य थुप्रै गुरुहरूले यहाँ तपस्या गरेको बताइन्छ ।

माङमालुङ इलाम सदरमुकामदेखि पैदल हिँडेर एक दिनमा पुग्न सकिन्छ । सदरमुकामदेखि पाँचथरको सीमावर्ती राँके, घुर्पिसे पञ्चमी, रवी हुँदै र अर्को बाटो इलामकै मंगलबारे, गजुरमुखी, इभाङ हुँदै गाडीबाट पनि पुग्न सकिन्छ भने झापाको दमकदेखि लारुम्बा हुँदै पनि माङमालुङ पुग्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार