सूचनाको हकका लागि राष्ट्रिय संजाल प्रदेश १ समिति गठन

  नयाँ बुलन्द
0 Shares

इलाम : सूचनाको हकका लागि राष्ट्रिय संजाल नेपालको प्रदेश १ तदर्थ समिति गठन भएको छ ।

सूचनाको हकको प्रचलन, प्रबर्द्धन र सम्बर्द्धन सहित आम नागरिकको सूचना पाउने मौलिकहकको सरल सहज पहुँच स्थापना गरि नागरिकलाई सुसूचित गराउने उद्देश्यका साथ गठन भएको संजालको प्रदेश समिति शनिबार घोषणा भएको हो ।

शनिबार साँझ भर्चुअल कार्यक्रममा संजालका केन्द्रीय सदस्य सचिव अजयकुमार शाहले १७ सदस्यीय प्रदेश तदर्थ समितिको घोषणा गरेका हुन् ।

प्रदेश तदर्थ समितिको संयोजकमा बिराटनगरका सूचना अभियान्ता राजु श्रेष्ठ चयन भएका छन् । सहसंयोजकमा पाँचथरका सूचना अभियान्ता तथा पत्रकार मंगल बेघा र सदस्य सचिवमा सुनसरीका सूचना अभियान्ता बिष्णुप्रसाद चौलागाईं भएका छन् ।

त्यसैगरी प्रदेश समिति सदस्यहरुमा प्रदेश १ का १४ वटै जिल्लाबाट एक/एक जना प्रतिनिधित्व गराईएको छ । सोलुखुम्बुबाट बुद्धवीर लिम्बू, ओखलढुंगाबाट जीवन शर्मा, संखुवासभाबाट दिपेन्द्र शाक्य, खोटाङबाट लोकनाथ घिमिरे, उदयपुरबाट वीरबहादुर मगर, भोजपुरबाट ईश्वरीप्रसाद ढकाल, तेह्रथुमबाट खगेन्द्र सापकोटा, धनकुटाबाट संगीता चापागाईं, ताप्लेजुङबाट देवराज गुरुङ, पाँचथरबाट युधिष्टिरराज आमगाईं,  ईलामबाट राम योङहाङ, झापाबाट मनोज लिम्बू, मोरङबाट पिताम्बर घिमिरे र सुनसरीबाट आईतीमाया तामाङ चयन भएका छन् ।

सूचनाको हकका लागि राष्ट्रिय संजालले आम नागरिकलाई सूचनाको हकको ज्ञान दिनुका साथै सूचना मागमा सहजीकरण समेत गरेको छ भने राष्ट्रिय सूचना आयोग, फ्रिडम फोरम र अन्य नागरिक सचेतता गर्ने संघसंस्थासँग समेत सहकार्य गर्दै विभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

कार्यक्रममा संजालका केन्द्रिय संयोजक उमिक वागचन्द, केन्द्रिय सदस्य सचिव शाह, केन्द्रिय सल्लाहकार टंक अर्याल, नेपाल पत्रकार महासघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना, सूचना अभियान्ता नोदनाथ त्रिताल लगायतको उपस्थिति थियो ।

संजलाको शाखा जिल्ला र स्थानीय तहमा समेत विस्तार हुनेछ । जिल्ला संजाल निर्माणको जिम्मा प्रदेश सदस्यहरुले पाएका छन् । जिल्ला संजाल गठन भएपछि स्थानीय तहमा समेत संजाल गठन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार