काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीबाट पार्टी विभाजनका लागि प्रस्ताव आएको बताउनु भएको छ ।
उहाँले आइतबार खुमलटारमा सम्पन्न ओलीइतर नेताहरुसँगको छलफलमा प्रधानमन्त्रीबाट पार्टी विभाजनका लागि प्रस्ताव आएको बताउनुभएको हो ।
आप्mनै निवास खुमलटारमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासहभागी बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । खुमलटारमा आफूनिकट नेताहरूसँगको छलफलमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले शनिबारको भेटवार्तामा उक्त प्रस्ताव गरेको ‘ब्रिफ्रिङ’ गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठले पनि त्यसको पुष्टि गर्नुभएको छ । ‘प्रधानमन्त्रीज्यूले सँगै जान सकिएन, अब अलग–अलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री स्वयंले उक्त प्रस्ताव गरेपछि पार्टी एकता कायम गर्न लागि परेका छौं ।’
उहाँका अनुसार शनिबारको भेटवार्ता र आइतबार टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष दाहालसँग उक्त प्रस्ताव गर्नुभएको हो । दाहालले खुमलटारमा आफू निकट नेताहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले गरेको प्रस्तावका बारेमा छलफल गरेको पुष्टि गर्दै श्रेष्ठले पार्टी एकता कायम गराउनका लागि तीव्रताका साथ छलफल भइरहेको श्रेष्ठले जानकारी दिनुभएको छ ।