वडाध्यक्षको कुटपिटबाट घाइते

तेह्रथुम : छथर गाउँपालिका-६ सुदापका वडाध्यक्ष टेकराज लिम्बूले स्थानीय एक युवालाई निर्धात कुटपिट गरेका छन्। घरायसी व्यवहारको निहुँमा वडाध्यक्ष लिम्बूले ३३ वर्षीय राजकुमार लिम्बूलाई कुटेका हुन् । बिहीबार साँझ बाटोमा हिँडिरहेको बेला केही सल्लाह गर्न वडाध्यक्षले बोलाउनु भएको छ भन्दै छिमेकी सन्तकुविर लिम्बू र उनकी श्रीमती ममताले राजकुमारलाई उनीहरुकै घरमा लगे ।

राजकुमारलाई देख्ने बित्तिकै वडाध्यक्ष लिम्बूले मेरो बारेमा नराम्रो कुरा गर्दै किन हिँडेको भन्दै एक्‍कासी हातपात गर्न थाले । ‘सन्तकुविरको श्रीमानश्रीमतीले मलाई समाए, वडाध्यक्षले मुक्‍काले केहीबेर हाने, चिरपटले हान्दा बेहोस भएछु, ‘पीडित लिम्बूले भने।

वडाध्यक्षको कुटाइबाट घाइते भएका लिम्बूको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनको कम्मर,ढाडको मुनी निलडाम र घाउ समेत परेको छ ।  छोरा अन्यायमा परेकाले गाउँका सबैलाई हारगुहार गरेपनि वडाध्यक्षको डरले कसैले सहयोग नगरेको पीडितका बुवा टिका प्रसाद लिम्बूले बताए । उनले भने, ‘घटनाबारे प्रहरीलाई जानकारी दिए ज्यान मार्ने धम्की दिएका छन्।’

यता वडाअध्यक्षले भने लिम्बूलाई कुटपिट गरेको स्वीकार गरेका छन्। उनले भने, ‘मादक पदार्थ सेवन गरी मात्तिएर हिँडेको देखेपछि किन यसरी हिँडेको भन्दा उल्टै मुख लागेपछि सामान्य कुटपिट गरेको हुँ।’

आफूलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै तीन दिनपछि सोमबार लिम्बू ओख्रे प्रहरी चौकी पुगेका छन्। प्रहरीले अहिले तपाई जानुहोस् म वडाध्यक्षलाई कारवाही गर्छु भनेर पठाए पनि केही प्रक्रिया अगाडि नबढाएको पीडितको गुनासो छ ।

वडाध्यक्षलाई छलफलका लागि चौकीमा बोलाए पनि नआएको ओख्रे प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कुलप्रसाद पाण्डेले बताए । उनले उजुरी आउनेबित्तिकै वडाध्यक्षलाई फोन गरेको हो तर नआएको जानकारी दिए।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बसन्तपुरमा उपचार भइरहेको छ । उनको ढाड,छाती र कम्मरको एक्सरे र अन्य घाउचोटमा औषधि गरिएको स्वास्थ्य  केन्दका डा. नबिन प्रजापतीले जानकारी दिए । पीडित लिम्बूको आर्थिक अवस्था कमजोर भएकाले उनकी श्रमती जुना एकवर्षदेखि वडाध्यक्षकै घरमा काम सघाउँदै आएकी छिन्।

कोरोनाभाइरस संक्रमणको जोखिमको कारण सरकारले लकडाउनको घोषणा गरेपछि दैनिकी चलाउन समस्या भएकालाई स्थानीय तहले राहत वितरण गरिहेको छ। जिविकोपार्जमा समस्या भएका राजकुमारलाई राहत दिनुको साटो ज्यानै जोखिममा पर्ने गरी वडाध्यक्षले कुटेको भन्दै वडावासीले चिन्ता व्यक्त गरेका छन्।

विभिन्न बहानामा वडाध्यक्षबाट आफू कुटिदै आएको घाइते लिम्बूको आरोप छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार