प्रदेश १ देशकै पर्यटकीय साँस्कृतिक संग्राम : मुख्यमन्त्री राई

  नयाँ बुलन्द
0 Shares

इलाम : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ देशकै पर्यटकीय सांस्कृतिक संग्रामको रुपमा रहेको बताएका छन् । मुख्यमन्त्री राईले सबैभन्दा होचो केचनादेखि सबैभन्दा अग्लो सगरमाथा समेत रहेको प्रदेश पर्यटकीय सांस्कृतिक संग्राम भएको बताए ।

इलामको सूर्योदय नगरपालिकामा सुरु भएको ‘प्रथम सूर्योदय नगर पर्यटन महोत्सव २०७६’ को उद्घाटन कार्यक्रमलाई सम्धोधन गर्दै मुख्यमन्त्री राईले भने, ‘हामी पर्यटकीय र सांस्कृतिक रुपमा यति धनी छौं, यसलाई विश्वमा छर्न सक्नुपर्छ, त्यसको शुरुआत सूर्योदय नगरले गरेको छ ।’

मुख्यमन्त्री राईले सूर्योदय नगर पर्यटन महोत्सवलाई अन्य सामान्य महोत्सवसँग नदाँज्न आग्रह गर्दै यस महोत्सवल सूर्योदय नगरबासीसहित इलाम जिल्ला र प्रदेश नम्बर १ को पर्यटन विकासमा नै सहयोग पु¥याउन सक्ने दावी गरे ।

मुख्यमन्त्री राईले प्रदेश १ का विभिन्न स्थान आफैंमा पर्यटकीय स्थल भएको भन्दै एकआपसमा हातेमालो गरेर पर्यटनको खेती गर्नसके प्रदेश १ देशकै उकृष्ठ स्थानमा रहिरहने बताए । ‘कन्याम, श्री अन्तु, सूर्योदय, रेडपाण्डा, चिया, ओलन, अलैंची, अकबरे जस्ता कुराले इलाम आफैंमा समृद्ध छँदैछ’ मुख्यमन्त्री राईले भने, ‘सबैले हातेमालो गरी अझ समृद्ध बनाउनेतर्फ लाग्नुपर्छ ।’

अर्को प्रसंगमा मुख्यमन्त्री राईले सम्बृद्ध नेपालको चाहना सबै नेपालीको भएकाले त्यसका लागि सहकार्यसहित नयाँ नेपाल निर्माण गर्ने जिम्मेवारी सबैको रहेको बताए । अहिले राज्यको शक्ति तीन तहमा बाँडेर नयाँ नेपाल निर्माण गर्ने ऐतिहासिक चरणमा रहेको बताए ।

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा इलामबाट प्रतिनिधित्व गर्ने प्रदेश सभाषद्हरु धिरेन्द्र शर्मा, राम राना, र खिनु लङ्वा, जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, उपप्रमुख चित्रकला बराइली, चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई, रोङ गाउँपालिका अध्यक्ष शम्शेर राई, फाकफोकथुमका अध्यक्ष राम श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, नेपाली कांग्रेसका सभापति हिमालय कर्मचार्य, सुरक्षा निकाय र अन्य सरकारी अड्डाका प्रमुख तथा प्रतिनिधी र स्थानीय पर्यटन व्यवसायीको सहभागीता थियो ।

कार्यक्रममा महोत्सव मूल आयोजक समितिकी संयोजक तथा नगर उपप्रमुख दुर्गादेवी भट्टराईले अतिथि र सहभागीलाई स्वागत गरेकी थिइन् । सोही अवसरमा विभिन्न जातजातीका झाँकी पनि प्रस्तुत गरिएका थिए । राई, लिम्बू, सुनुवार, लाप्चालगायतका जातजातिको झाँकी तथा नौमति बाजा लगायतका प्रस्तुति रहेका थिए ।

महोत्सव १८ मंसिरसम्म सञ्चालन हुनेछ । महोत्सवका क्रममा नगरपालिकाका १० वटा वडाहरुमा पर्ने पर्यटकीय स्थलहरुमा विशेष कार्यक्रमहरु आयोजना गरिएका छन् । श्रीअन्तु, समाल्बुङ, गोर्खे, फिक्कल, कन्याम, करफोक लगायतका स्थानमा स्थानीय उत्पादन, संस्कृति, परम्परा तथा रहनसहन झल्कने कार्यक्रमहरु आयोजना गरिएको उपप्रमुख भट्टराईले बताइन् ।

महोत्सवभरी यस्तो कार्यक्रम

परम्परागत बस्तुहरुको अवलोकन पाँचै दिन हुनेछ । अन्तु क्षेत्रमा पाँचै दिन फुड स्टलहरु सञ्चालन गरिने छ भने पर्यटकलाई आकर्षण गर्नका लागि अन्तुपोखरीमा फिसिङ गराउन कार्यक्रम राखिएको छ । अन्तु पोखरीमा बोटिङ गर्न पाइने छ । महोत्सव अवधिभर लेप्चा संग्रालयको अवलोकन गराउने कार्यक्रम छ । संग्रालय यस अघि बन्द थियो । १५ गते देवघाटमा कविता प्रतियोगीता, १६ गते बृहत सास्कृतिक कार्यक्रम, १७ गते शान्ति बजारमा खेलकुद कार्यक्रम, सोही दिन लोपोन्मुख लेप्चा जातिको जुठी प्रवद्र्धन कार्यक्रम तय गरिएको छ । राष्ट्रिय अपाङता दिवसको अवसर पारेर १७ गते अपाङता भएका व्यक्तिहरुका लागि विभिन्न खेल प्रतियोगीता आयोजना गरिएको छ ।

पशुपतिनगर विभिन्न जातिय परिकारहरुको प्रदर्शनी सहितको फुडस्टल महोत्सव अवधिभर सञ्चालन हुनेछ । तेस्रो देशको सामान पाइने सीमावति बजार पशुपतिनगरमा विषेश छुटमा सामान विक्री गर्न सस्तो बजार कार्यक्रम सञ्चालन गरिनेछ । १५ गते बृहत साँस्कृतिक कार्यक्रम, आँखा शिविर लगायतका कार्यक्रम पशुपतिनगरमा हुनेछन् ।

गोर्खेमा पर्यटकहरुलाई लोपान्मुख जनवार रेडपाण्डा अवलोकनको लागि रेडपाण्डा ट्रेल कार्यक्रम राखिएको छ । गोर्खेको थुम्की क्षेत्रको सामुदायिक वनमा रेडपाण्डा पाइने भएकाले तीन रात बास सहित चार दिने प्याकेज बनाइएको सूर्योदय नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए । विभिन्न चारवटा बाटो भएर रेडपाण्डा पाइने क्षेत्रमा पुग्न सकिनेछ । सोही प्याकेजमा तीन तले झरना, नेपालकै दोस्रो हाइड्रोपावर, करिप्पाक ध्यान स्थल समेतको अवलोकन गराउने कार्यक्रम राखिएको छ ।

कन्याममा बौद्य परम्पराबाट गुम्बा पुजा, हरेक दिन हाइकिङ, प्रत्येक दिन डम्फँ साँझ, १५ गते बृहत साँस्कृतिक कार्यक्रम, सुन्दर घोडा प्रतियोगीता, टि टेष्टिङ तथा लघु उद्यम प्रदर्शनी रक्तदान लगायतका कार्यक्रम तय गरिएको छ । फिक्कलमा प्रत्येक दिन नाटक तथा फिल्म प्रदर्शनी, अन्तर विद्यालय साँस्कृतिक कार्यक्रम राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार