समाजवादी पार्टीले सक्यो ४० जिल्लाको समायोजन

काठमाडौं : सत्तारुढ समाजवादी पार्टीले प्रदेश समिति र जनसंगठनका केन्द्रीय समिति समायोजन कार्य पूरा गरेसँगै जिल्लामा समायोजनलाई पनि तिव्रता दिएको छ । उक्त पार्टीले अहिलेसम्म ४० जिल्ला समायोजन भइसकेको उक्त पार्टीका उपमहासचिव डम्बर खतिवडाले जानकारी दिए ।

तत्कालीन नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच एकतापछि बनेको समाजवादी पार्टीले प्रदेश १ मा १४ मध्ये ६ जिल्लाको समायोजन भइसकेको खतिवडाले जानकारी दिए । प्रदेश १ मा धनकुटा, मोरङ, खोटाङ, इलाम, पाँचथर र झापामा जिल्ला समायोजन पूरा भएको हो । आन्तरिक सहमति भइसके पनि प्रदेश १ को प्रदेश समिति घोषणा भइसकेको छैन ।

प्रदेश नं. २ का ८ जिल्लामध्ये ४ जिल्ला सिराहा, सर्लाही, बारा र पर्सामा समायोजन सम्पन्न भइसकेको छ भने ४ सप्तरी, धनुषा, महोत्तरी र रौतहटमा बाँकी छ । प्रदेश ३ का १३ जिल्लामध्ये ४ जिल्ला रसुवा, रामेछाप, सिन्धुली र काभ्रेमा मात्र अहिलेसम्म जिल्ला समायोजन भएको छ ।

प्रदेश नं. ४ का ११ मध्ये नवलपुर, तनहुँ, गोर्खा, कास्की, स्याङजा, लमजुङ, पर्वत र बागलुङ गरी ८ जिल्लाको समायोजन सकिएको उपमहासचिव खतिवडाले जानकारी दिए । उनका अनुसार मनाङ, मुस्ताङ र म्याग्दीको मात्र समायोजन बाँकी छ । यी ३ जिल्लामा दुवै पार्टीको खासै बाक्लो संगठन नभएको र नयाँ शिराबाट जिल्ला संगठन बनाउनु पर्ने अवस्था भएको हुँदा प्रदेश ४ मा जिल्ला समायोजन सम्पन्न सरह भएको स्थानीय एक नेताले जानकारी दिए ।

प्रदेश ५ का १२ मध्ये ८ जिल्लामा समायोजन पूरा हुँदै छ । परासी, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, दाङ र बर्दियामा सम्पन्न भइसकेको छ भने प्युठानको छिट्टै घोषणा गरिन लागेको प्यूठानका पूर्वनयाँ शक्तिका एक नेताले जानकारी दिए । यस प्रदेशमा ४ जिल्ला रुपन्देही, बाँके, रोल्पा र पूर्वी रुकुम मात्र बाँकी छन् ।

कर्णाली प्रदेशका १० जिल्लामा भने डोल्पा बाहेक ९ जिल्लामा समायोजन पूरा भएको छ । प्रदेश नं. ७ मा भने अहिलेसम्म १ जिल्ला कैलाली मात्र समायोजन भएको छ । बाँकी ८ जिल्ला बाँकी छन् ।

जनसंगठनहरुमा मजदुर बाहेक सबै समायोजित भइसकेको खतिवडाले बताए । समायोजित भइसकेका जिल्ला समितिले गाउँ/नगरपलिका समिति समायोजन गर्न थालेकाछन । करिब १०० गाउँ/नगर समिति समायोजित भइसकेका छन् । प्रवासमा ९ देशका समितिहरु समायोजन भइसकेका छन् ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच २०७६ बैशाख २३ गते एकता भएको थियो । समाजवादी पार्टीले निर्वाचन आयोगमा दर्ता प्रक्रिया पूरा गरी नयाँ चुनाव चिन्ह ‘हात’ पाएको छ । फोरमको चुनावचिन्ह मसाल र नयाँ शक्तिको चुनाव चिन्ह आँखा थियो ।

तराई-मधेशमा पञ्जा छापका रुपमा लोकप्रिय हात चिन्ह २०४६ पछि गजेन्द्र नारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टीले प्रयोग गर्दथ्यो ।

कार्तिक मसान्तभित्र समायोजन सम्बन्धी सबै कार्य समाप्त हुने र मंसिर १ गतेदेखि देशव्यापी रुपमा जनजागरण तथा संगठन विस्तार अभियान संचालन गर्ने तयारी भइरहेको उपमहासचिव खतिवडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार