सरकारको कार्यशैली, वाम आन्दोलन धरापमा !

  नयाँ बुलन्द
0 Shares

पछिल्लो समय सिंहदरबारमा वामहरुको रजगज चलेको छ । संविधानको सुन्दर पक्षलाई आत्मासाथ गर्दै लोकतान्त्रीक विधि स्वीकार गरेका वामहरु निर्वाचन मार्फत उक्त स्थानमा पुग्न सफल भएका हुन । पुरानो संरचना नभत्काई नयाँ बनाउँन सकिँदैन भन्ने स्कुलिङबाट आएका कमरेड ओली निर्माण गर्ने ठाउँमा पुग्दा पनि भत्काउन मात्र लागेको आरोप उनको कार्यशैलीले देखाई रहेको छ ।

मुलुक भित्र स्थापित कुनै पनि संस्था, संगठन, निकाय चुस्त दुरुस्त थिएनन् । अनेक रुमानी सपनाको नाममा जन्माइएको राजनैतिक अस्थीरताको कारण मुलुकको वेथिति, विकृति र विसंगतीलाई सच्याउन कहाँबाट शुरु गर्ने ? ओली सत्ताले अहिले सम्म भेउ पाएको महशुस हुँदैन । चौतर्फी लादिएको एकाधिकार, कार्टेलिङ्ग, सिण्डिकेट भत्काउन सफल हुँदा जनता, मुलुक, लोकतन्त्र, राज्यको कारोबार र राजनीति फस्टाउँछ भन्ने जनचाहाना यातायात क्षेत्रको सिण्डिकेट तोड्ने हल्ला बिचैमा तुहिएसँगै बरालिएको ओली सरकार अनेक सपना देखाउने र बीचैमा छोडिदिने कामलाई पुरुषार्थ मान्दै छ ।

मेलम्चीको पानी, काठमाडौंको फोहोर र धुलो, देशै भरका स्थानिय निकायमा जनताले पाएको दुख, मालपोत कार्यालयको अनियमितता र झमेला, जिल्ला प्रशासन कार्यालयमा पाइने सास्तीलाई रोक्नासाथ सरकारको उपस्थिति देखिने कुरालाई छोडेर कहिले निषेधित क्षेत्र घोषणा गर्न लाग्छ भने कहिले वाइडवडी घोटाला, होलीवाइन काण्ड, निर्मला काण्ड, वालुवाटार काण्ड, चिनी काण्डमा फस्न पुग्छ । पछिल्लो समय सञ्चार क्षेत्रलाई नियमन गर्ने नाममा मिडिया काउन्सिल विधेयक, सुचना प्रविधि विधेयक र गुठी विधेयकको झमेला बेसाउन पुगेको छ । सुधारवाद, गुटवाद र राष्ट्रवादको पुँजीले मिलेको संसदीय अंकगणित पछि पछाडि फर्केर हेर्न नचाहने, छलफल, अध्ययन, परामर्श जस्ता कुरा र पार्टी पद्धतिलाई बोझ मान्ने कमरेड ओलीको दम्भ पछी वामसत्ता अकल्पनिय नोक्सानीलाई स्वागत गर्न हतारिदैं छ ।

भनिन्छ, सत्ताको चरित्र दमनकारी हुन्छ । दुई साक्षी राखेर प्रचण्डसँग सम्झौता गर्दै प्राप्त गरेको कुर्सीलाई सत्ता ठान्ने पछिल्लो भ्रममा परेको ओली सरकार न पार्टीको हुन सफल भयो, न सिंहदरबारको ! अत्यन्त सानो घेरामा बस्न रुचाउने , पार्टीलाई बोझ ठान्ने,  आफूलाई सम्पुर्ण विषय वस्तुको ज्ञाता सम्झने प्रवृतिको कारण विना सोचविचार एककदम अगाडी बढ्ने, सडक र मिडियाको विरोध हुनासाथ दुई कदम पछाडि हट्ने अनेक घटना पछि कार्यकर्ता र जनताको विश्वास नराम्रोसँग गुमाउँदै छ ।

मुलुकको राजनीति विचित्र अवस्थाबाट गुज्रदैं छ । शान्ति, स्थीरता र समृद्धिलाई छाँयामा पार्ने काम सराकारको नपुगेको ढंगलाई मानिदै छ । आफ्नो हैसियत भन्दा बढी हौसिएको सरकार कोसँग, कहिले प्रतिस्पर्धा गर्ने र कहाँ पुग्ने भन्ने भुलिसकेको छ । स्वदेशी, विदेशी, अर्गानिक, हाईब्रीड मात्र हैन आर्टिफिसियल समस्याको समाधान कसरी गर्ने ? समयमै जवाफ पाउन सकिरहेको छैन । आफैले बेसाएको गुठी विधेयकको विरुद्ध सडकमा लागेको नारा पछि ‘छुर्पी जस्ता कडा प्रधानमन्त्री ‘नौनी’ जस्तो नरम बन्दै छलफलमा जुटेका छन । हरेक विधेयक प्रस्तुत हुनु अघि यस्तै प्रकृया अप्नाउन चुकेका प्रधानमन्त्री ओली बाध्यात्मक दबावको सामना गर्न मजबुर भएका छन । पार्टी र सरकारलाई गति दिन असफल ओली कार्यकाल उनको कार्यशैलीको सिकार भएको छ । भ्रष्टाचार, सुशासन र समृद्धिको कुरा गरेर कहिल्यै नथाक्ने ओली कार्यकाल हर क्षेत्रमा ॠणात्मक सुचकाङ्क बनाउन हतारिएको छ ।

विना लगानी बढेको आम्दानीसँगै आचरण, इमान्दारिता र कार्यक्षमतामा ह्रास आउन शुरु भएको वाम आन्दोलन पछिल्लो कालखण्डमा आफ्नो प्रतिष्ठा कायम राख्न चुकेको अनगिन्ती प्रमाण भेटिन्छ्न । सिद्धान्त रोगी र बुढो भएको लोकतन्त्रमा आफ्नो प्रतिद्वन्दी नदेखेको ओली सत्ताले तत्काल आँखा खोल्न राजी छैन । दुनियाँभरका पुँजीवादी शक्ति, नेपाल भित्रका दक्षिणपन्थी शक्ति, लोकतान्त्रीक शक्ति र अनेक रुपमा रहेका वामविरोधी शक्तिलाई खुशी बनाउँने ओली सरकारको कार्यशैली तत्काल परिवर्तन नगरे भविष्यमा वामहरुको निम्ति सिंहदरबार एकादेशको कथा बन्ने छ ।      nepalpati.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार