चिया खेतीको गढ मानिने इलाममा सजीवनको व्यावसायिक खेती

इलाम : चिया खेतीको गढ मानिने इलाममा सजीवनको व्यावसायिक खेती गर्न थालिएको छ । प्रशस्त पोषण तत्व पाइने भए पनि यसअघि उपेक्षित हुँदै आएको सजीवनको महत्व बुझ्न थालेपछि यसतर्फ किसान आकर्षित भएका हुन् ।

मानव शरीरलाई उपयोगी हुने ९० भन्दा बढी पोषक तत्व पाइने सजीवनको खेती पछिल्लो समय व्यवस्थित रुपमै गर्न थालिएको छ । सब्जीका रुपमा निकै स्वादिष्ट मानिने यसमा प्रशस्त पोषक तत्व र औषधीय गुण हुने भएकाले व्यावसायिक खेतीको प्रयास गरिएको हो ।

तराईतिर सोहिजन, सैजन, सजिउन, मुनका आदि नामले चिनिने यसलाई यहाँ गर्मी मौसममा शीतल सब्जीको नामले समेत चिनिन्छ । धेरैले यसको कोसालाई मात्र प्रयोग गरे पनि अन्य भाग पनि उत्तिकै उपयोगी छन् । रोग किरा खासै नलाग्ने हुँदा व्यावसायिक उत्पादनको धेरै सम्भावना रहेकाले व्यावसायिक खेती गर्नुपर्ने इलाम नगरपालिका गोदकका किसान श्रीबहादुर बिष्टको भनाइ छ ।

बहुगुणसम्पन्न भए पनि पहिले यस बिरुवाबारे धेरै अनभिज्ञ रहेकाले उपेक्षामा पर्दै आएको थियो । कम पानी भएको ठाउँमा पनि लगाउन सकिने र मूल्य पनि आकर्षक पाउने भएकाले यसप्रति किसानको आकर्षण बढ्दै गएको हो । जुनसुकै स्थानमा पनि खेती गर्न सकिनु यसको राम्रो पक्ष हो ।

स्थानीय प्रजाति चैत, वैशाख महिनामा फल खानका निम्ति तयार हुन्छ तर वर्णशंकर प्रजातीले भने सबै मौसममा उत्पादन दिने गर्दछ । यसमा भिटामिन सी, क्याल्सियम, प्रोटिन प्रचुर मात्रामा पाइने भएकाले यसको प्रयोग उपयोगी हुने इलामका स्थानीय डा. रामकृष्ण आचार्य बताउँछन् ।

बहुगुणसम्पन्न यस्ता बालीको महत्वबारे प्रष्ट पारेर धेरै कृषकलाई यसतर्फ आकर्षित गर्न सके किसानको जीवनस्तर माथि उठाउन सहयोग मिल्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार