नेकपा कार्यदल भंगपछि अन्योल

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया टुंगो लगाउन गठित कार्यदल भंग भएपछि पार्टीभित्र अन्योल बढेको छ ।

पार्टीको तल्लो तहको एकीकरण प्रक्रियामा ढिलाइ भइरहेका बेला कार्यदल नै भंग भएपछि एकता प्रक्रिया अझै अनिश्चित बनेको छ ।

पार्टी एकता घोषणा भएको एक वर्ष पुग्न लाग्दापनि एकीकरण प्रक्रिया टुंगो लाग्न नसक्दा नेकपाभित्र अन्योल बढ्दै गएको छ ।

तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता घोषणा गर्दा सबै तहको एकता प्रक्रिया चाँडै पूरा गर्ने प्रतिबद्धता गरेपनि अहिलेसम्म टुंगोमा नपुग्दा अन्योल बढेको हो ।

एकता प्रक्रिया टुंगो लगाउन गठित कार्यदल नै भंग भएपछि नेकपामा थप संकट आइलागेको छ ।

कार्यदल भंग गरेपछि पार्टीका स्थानीयदेखि केन्द्रसम्मका सबै सांगठनिक एकीकरणका काम ठप्प भएको छ ।

कार्यदलका सदस्य योगेश भट्टराईले कार्यदलका संयोजक र महासचिव नै कार्यदल भंग गर्न लागेको आरोप लगाए ।

उनले कार्यदलका बहुमत सदस्यले एक हप्ता म्याद थपको प्रस्ताव राखेको तर अध्यक्षले म्याद नथपी कार्यदल भंग गर्दा पार्टी एकीकरणकोविरुद्धमा केही व्यक्ति हात धोएर लागेको पुष्टि भएको दाबी गरे ।

स्थायी कमिटीबाट गठित कार्यदल विघटन गर्ने अधिकार सचिवालयलाई नभएको भन्दै उनले कार्यदल भंग हुनु दुःखदायी भएको बताए ।

संगठन विस्तारको काम ठप्प पार्ने र पार्टीलाई क्षति हुनेगरी भएको निर्णयकोविरुद्ध बहुमत सदस्यले सांगठनिक एकता प्रक्रिया टुंग्याउने विषयमा छुट्टै प्रतिवेदन बुझाउने उनको भनाइ छ ।

पार्टीभित्र कसको पक्षमा पल्लाभारी बनाउने भन्ने टकरावले गर्दा पार्टी एकीकरणको काममा ढिलाइ भएको उनको भनाइ छ ।

दुई अध्यक्षबीचको जुंगाको लडाइँ र जोड-घटाउको हिसाब–किताबको खेलले गर्दा पार्टी नै बन्धक बनेको उनले बताए ।

कार्यदल भंग भएपछि नेकपाको सांगठनिक एकीकरण प्रक्रिया अवरुद्ध भएकोमात्र छैन, एकीकरण प्रक्रिया कहिले टुंगिने हो, अनिश्चित भएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतले कार्यदल भंग गर्दा अन्योल सिर्जना हुने भन्दै भंग गर्न नहुने प्रस्ताव गरेका थिए ।

तर, अध्यक्ष केपी शर्मा ओलीको जोडबलमा कार्यदल भंग भएसँगै पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार