काठमाडौं : तपाईको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस्ट कल’ आइरहेको छ ? छ भने महत्वपूर्ण कल होला भनेर ती नम्बरमा कल फिर्ता नगर्नूस्, तपाईको ब्यालेन्स गुम्न सक्छ ।
विदेशी ठगहरुले पैसा कमाउन त्यसरी मिस्ड कल गरेका हुन् । ती विदेशी नम्बरमा कल फिर्ता गर्दा मोबाइलको धेरै ब्यालेन्स काटिन सक्छ । काटिएको रकमबाट मिस्ड कल गर्ने व्यक्तिले फाइदा उठाइरहेका हुन्छन् ।
विदेशी नम्बरबाट आएको कल फिर्ता गर्दा एक÷दुई सेकेन्डमात्र कुरा गर्दा पनि मोबाइलको ब्यालेन्स स्वात्तै काटिने गरेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । नचिनेका त्यस्ता नम्बरमा ‘कल ब्याक’ नगर्न प्राधिकरणले सचेत गराएको छ ।
प्राधिकरणले पोल्याण्ड, मलेसिया, अमेरिका, जर्मनी, दक्षिण सुडान, साउदी अरेयिबा लगायत देशबाट आएका त्यस्ता कललाई विशेष ध्यान दिन आग्रह गरेको छ । –नागरिक दैनिकबाट