रेडस्टार गोल्डकपको उपाधि माङमालुङलाई

दोश्रो रेडस्टार गोल्डकप प्रतियोगिताको उपाधि चुमेपछि सामूहित तस्विर खिचाउँदै उपाधि विजेता माङमालुङका खेलाडीहरु । तस्वीर : नयाँ बुलन्द

इभाङ : इलामको माङसेबुङ गाउँपालिका २ इभाङमा आयोजित दोश्रो रेडस्टार गोल्डकप पूmटबल प्रतियोगिताको उपाधि माङमालुङ फूटबल क्लब माङसेबुङ-६ इलामले जितेको छ ।

सोमबार भएको फाइनलमा उपाधिको बलियो दावेवादर मानिएको आयोजक रेडस्टार क्लब माङसेबुङलाई सडेन डेथमा पराजित गर्दै माङमालुङले उपाधि चुमेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछि सडेन डेथका आधारमा विजेता निर्धारण गर्नुपरेको थियो ।

पहिलो हाफमा नै माङमालुङले २-० को अग्रता लिएपनि खेल अवधिभर कायम गर्न नसक्दा उपाधिका लागि सडेन डेथसम्म पर्खनुपरेको थियो । माङमालुङले छैठौं मिनेटमा नै अग्रता लिएको थियो । रिबाउन्स बललाई सदुपयोग गर्दै माङमालुङका राजु बुढाथोकीले जाली चुमाए । आक्रामक खेलेको माङमालुङले पुनः २६ औं मिनेटमा गोल गरी अग्रता दोब्बर बनाए । माङमालुङका राजु बुढाथोकीले आयोजकका दुई रक्षपंतीलाई छक्याएर सजिलै जाली चुमाएका थिए ।

पहिलो हाफमा २-० ले पछि परेको आयोजक दोश्रो हाफमा भने खेलमा फर्कियो । आयोजकले २ मिनेटमा २ गोल गरी खेललाई बराबरीमा ल्याएको थियो । आक्रमक शैलीमा मैदान उत्रिएको आयोजकले ५६ औं मिनेटमा पहिलो जवाफी गोल फर्कायो । युवराज राईले पहिलो गोल गरे । त्यसको २ मिनेट पनि बित्न नपाउँदै आयोजकले दोश्रो गोल गरी खेल २-२ को बराबरीमा ल्याएको थियो । थ्रोइङको अवसरलाई सदुपयोग गर्दै आयोजकका विशाल तामाङ ए ले गरेको प्रहारले जाली चुमेको माङमालुङका गोलरक्षक विकास राईलै पत्तै पाएनन् ।

त्यसपछिको निर्धारित समयमा दुवै टिमबाट निर्णायक गोल हुन नसकेपछि खेल टाईब्रेकरतर्फ धकेलिएको् थियो । टाईब्रेबरमा समेत दुवै टिमबाट ४–४ गोल भई बराबरी भएपछि सडेन डेथमा विजेता निर्धारण गरिएको थियो ।

जितसँगै माङमालुङले नगद ५० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । आयोजक रेडस्टारले भने २५ हजार रुपैयाँमा चित्त बुझाउनुपर्यो ।

प्रतियोगिताको उत्कृष्ठ खेलाडि उपविजेता आयोजक रेडस्टारका विशाल तामाङ ए घोषित भए । उनले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । सर्वाधिक गोलकर्ता सिक्तेम्बा फूटबल क्लबका सोमकुमार राई घोषित भए । खेल अवधिभर ६ गोल गरेका उनले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उत्कृष्ठ गोलरक्षक विजेता माङमालुङका विकास राई घोषित भए । उनले ग्लोब्स प्राप्त गरे ।

विजेता र उपविजेता टिम तथा खेलाडिहरुलाई प्रमुख अतिथी माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोले पुरस्कार प्रदान गरेका थिए ।

गत २७ असोजदेखि संचालित प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न २२ टिमको सहभागिता थियो । रेडस्टार क्लब माङसेबुङ २ को आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगिताको फाइनलको अवसरमा खेल सम्पन्न गर्न योगदान गर्ने नयाँ बुलन्द डटकमसहित विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको थियो । प्रतियोगिताको प्रथम पुरस्कार माङसेबुङ गाउँपालिकाले प्रायोजन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार