इलाम : किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूले प्रदेश १ को नामाङकरण गर्दा ‘लिम्बुवान’ समावेश गर्न माग गरेको छन् । उनले ‘लिम्बुवान’ ऐतिहासिक पहिचानको सम्बोधन नगरी प्रदेशको नामाङ्करण आएमा सशक्त आन्दोलनमा जान बाध्य हुने बताए ।
किरात याक्थुङ चुम्लुङको ३० औं स्थापना दिवसको अवसरमा आईतबार इलाममा आयोजित शुभकामना आदानप्रदान तथा जेहेन्दार छात्रवृति वितरण कार्यक्रमलाई सम्बोधन गर्दै लिम्बुले त्यस्तो बताएका हुन् । उनले चुम्लुङको राष्ट्रिय महाधिवेशन र केन्द्रीय बैठकको निर्णय अनुसार संविधान संसोधन गरी अरुण पूर्वको नौ जिल्लालाई लिम्बुवान घोषणाको माग निरन्तरता रहेको बताए ।
‘दीगो शान्ति र समृद्धिका लागि संविधान संसोधन गरी संखुवाखोला अरुण कोशीपूर्व मेचीसम्मको ९ जिल्लालाई ‘लिम्बुवान प्रदेश’ घोषणाको माग निरन्तर रहेको छ’ उपाध्यक्ष लिम्बूले भने, ‘हालको प्रदेश १ नामाङ्करणको सन्दर्भमा ‘लिम्बुवान’ समावेश गराउनका लागि सबै पक्षसँग समन्वय र सहकार्य गर्ने चुम्लुङले धारणा सर्वाजनिक गरेको छ ।’
उनले आदिवासी जनजातिको अधिकारको पक्षमा लेखिएको अन्तराष्ट्रिय श्रम संगठन १६९ कानुनप्रति नेपाल सरकार पक्ष राष्ट्र रहेकोले नेपालको संन्धि ऐन अनुसार बाझिएका नेपाली कानुनहरुलाई संसोधन नगरे स्थायी शान्तिको परिकल्पना गर्न नसकिने बताए ।
चुम्लुङका केन्द्रीय सदस्य चक्र येक्तेन (अभिषेक) ले आदिवासी जनजातिले उठाएको पहिचानको मुद्धाहरुलाई राष्ट्रले सम्बोधन गर्न सकेमात्र दीगो शान्ति काय हुनसक्ने बताए । चुम्लुङका लिम्बवान प्रदेश सचिव सन्तोष नेम्बाङले आफ्नो मौलिक संस्कार र संस्कृतिको जगेर्ना गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । चुम्लुङ इलाम नगर अध्यक्ष बखतबहादुर लिम्बूले भाषा र संस्कृति एकआपसमा जोड्न सकेमात्र मिठास आउने बताए ।
चुम्लुङ इलामका अध्यक्ष गायत्री थेगिमको अध्यक्षतामा भएको कार्यक्रममा लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय सदस्य रामकुमार लिङदम, इलाम अध्यक्ष अतित योङहाङ, याक्थुङ युवा मञ्चका अध्यक्ष भीम योङहाङ, साँस्कृति परिषदका अध्यक्ष पदम ताम्लिुङ, याक्थुङ फाःसिङ सजुमका पूर्व अध्यक्ष लोकबहादुर चेम्जोङ, सेवासावा नरबहादुर नेम्बाङलगायतले चुम्लुङे राखेको लक्षय पूरा गर्न एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । कोषाध्यक्ष बुद्धमाया सोङमीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राम योङहाङले गरेका थिए ।
किरात याक्थुङ चुम्लुङ २०४६ मा स्थापना भएको सामाजिक संस्था भएपनि राजनैतिक मुद्धाको समेत उठान गर्दै आएको छ । चुम्लुङले २०६२ सालको छेठौं राष्ट्रिय महाधिवेशनदेखि नै अरुण पूर्वको नौ जिल्लालाई ‘लिम्बुवान’ प्रदेशको माग गर्दै आएको छ । यस बीचमा चुम्लुङले अघि सारेको ‘लिम्बुवान’ को माग राख्दै पूर्वमा विभिन्न राजनैतिक दलहरु समेत स्थापना भई आन्दोलनरत छन् ।
चुम्लुङले आईतबार देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो ३० औं स्थापना दिवस मनाएका छन् ।