काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन सकिएको छ । दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन (सार्क) शिखर सम्मेलन लामो समय बाधित भइरहँदा काठमाडौंमै सम्पन्न बिम्स्टेकका सदस्य देशका सरकार प्रमुखहरूको शिखर सम्मेलनबाट नेपालले जस्तो किसिमको फाइदा लिन सक्नु पर्थ्यो त्यसमा चुकेको बिज्ञहरूले बताउन थालेका छन् ।
भारत र पाकिस्ताको शीतयुद्धका कारण सार्क असफलताको दिशामा अघि बढिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिमस्टेकलाई नै प्रयोग गर्नुपर्ने संकेत गरिसकेका छन् । तर, त्यसका लागि सरकारले पृष्ठभूमि तयार गर्न नसक्दा प्रधानमन्त्री ओलीको कूटनीति दम नदेखिएको बिज्ञहरू बताउँछन् ।
सार्कस्तरमा भएका ब्यापार सम्झौताहरु अलपत्र परिरँहदा बिमस्टेक सदस्य राष्ट्रबीचको स्वतन्त्र ब्यापार सम्झौतालाई टुंगोमा पुर्याएर कार्यान्वयनमा लैजान योपटक पनि नेपाल चुकेको अर्थविदहरुले औंल्याएका हुन् । यो शिखर सम्मेलनमा स्वतन्त्र ब्यापार सम्झौताको सञ्चालन प्रक्रियाको मानक बनाउने विषयले प्रवेश नै पाएन ।
विज्ञहरुका अनुसार यस विषयलाई ओझेलमा छाडिँदा सबैभन्दा बढी घाटा नेपाललाई नै छ । किनभने नेपालको सबै बिमस्टेक राष्ट्रसँग ब्यापार घाटा छ ।
अन्य राष्ट्रको अन्तर्राष्ट्रिय ब्यापारमा यस्तो ‘बिजोग’ अवस्था छैन । गत आर्थिक वर्षमा मात्रै नेपालले बिमस्टेक सदस्य राष्ट्रहरुबाट मात्रै ७ खर्ब ६४ अर्बको ब्यापार घाटा बेहोर्यो । यो नेपालको कुल ब्यापार घाटाको ६७ प्रतिशतभन्दा बढी हो । अर्थात् नेपालले मुख्य ब्यापार घाटा यिनै देशहरुसँग बेहोरेको छ । नेपालले गत वर्ष ११ खर्ब ६७ खर्बको ब्यापार घाटा भोगेको थियो ।
बिमस्टेकको अध्यक्ष र आयोजकका हिसाबले नेपालले ब्यापारघाटा न्यूनीकरण गर्दै सबै देशको आर्थिक लाभका लागि ब्यापार सहजीकरण गर्ने विषयमा छलफल गराउन सक्थ्यो । तर, विषय नोगोसियसन नटुंगिएको भन्दै अन्य देशले चासो देखाएनन् । नेपालको मात्र धेरै चासोको विषय यसमा नेपालले नै जाडबल गर्नु पर्थ्यो त्यसमा नराम्रोसंग चुकेको छ ।