सुर्योदय नगर उद्योग वाणिज्य सघंमा प्रमोद राईको प्यानल विजयी

अर्जुन गड्तौला

सुर्योदय : सुर्योदय नगर उद्योग वाणिज्य सघंको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा प्रमोद राईको प्यानल विजयी भएको छ । सोमबार विहान सम्पन्‍न मतगणनाबाट पदाधिकारी सहित सबै सदस्यमा राईको प्यानल विजयी बनेको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपाल सम्बद्ध उद्योगीहरुको संयुक्त गठबन्धनमा निर्माण गरिएको राईको प्यानल विजयी भएको हो । राईका विरुद्ध नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट उद्योगीहरुको संयुक्त गठबन्धनमा निर्माण गरिएको उत्तमकुमार श्रेष्ठको प्यानल नराम्ररी बढारिएका छन् । श्रेष्ठको प्यानलबाट उम्मेद्वारी दिएका सबै पराजित भए ।

अध्यक्षमा प्रमोद राईले प्रतिष्पर्धी उत्तमकुमार श्रेष्ठलाई १ सय १७ मतले हराउँदै विजयी भएका हुन् । राईले मत ३ सय १७ पाउँदा श्रेष्ठले २ सय मत पाए । वरिष्ठ उपाध्यक्षमा गौतम प्रधान १ सय ४० मतान्तरका साथ निर्वाचित भएका छन् । गौतमले ३ सय १९ मत पाउँदा उनका प्रतिष्पर्धी दामोदर चापागाईले १ सय ७९ मत मात्र पाए ।

प्रथम उपाध्यक्षमा टीकाराम अधिकारी निर्वाचित भएका छन् । अधिकारीले प्रतिष्पर्धी जिआर खड्कालाई ८५ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । अधिकारीले २ सय ८२ मत पाउँदा उनका प्रतिष्पर्धी खड्काले १ सय ९७ मत मात्र पाए । द्वीतिय उपाध्यक्षमा चन्दनमोहन अग्रवाल १ सय १० मतान्तरले निर्वाचित भएका छन् । अग्रवालले २ सय ९१ मत पाउँदा उनका प्रतिष्पर्धी मिलन राईले १ सय ८१ मत ल्याए ।

महासचिवमा राजन प्रधान १ सय ७७ मतान्तरका साथ निर्वाचित भएका छन् । प्रधानले ३ सय २४ मत पाउँदा उनका प्रतिष्पर्धी लक्ष्मीप्रसाद प्रसाईले १ सय ४७ मत मात्र पाए । सचिवमा कविता राई १ सय ९ मतान्तरका साथ विजयी भएकी छन् । राईले २ सय ८३ मत पाउँदा उनकी प्रतिष्पर्धी युवराज प्रधानले १ सय ७४ मत मात्र पाए । त्यसैगरी कोषाध्यक्षमा लोकबहादुर प्रधान विजयी भएका छन् । उनी प्रतिष्पर्धी कृष्णकुमारी खड्का (चादनी) लाई १ सय ३९ मतान्तरले हराउँदै बिजय भएका हुन् । प्रधानले ३ सय १५ मत पाउँदा खड्काले १ सय ७६ मत पाइन् ।

त्यसैगरी खुला सदस्यमा प्रज्वल प्रधान २ सय ९३ मत, पुजन प्रधान ३ सय २३ मत, सुरेन पौडेल २ सय ९३ मत, सुजन तिमल्सिना २ सय ५५ मत प्राप्त गरी विजयी भएका छन् । त्यसैगरी महिला सदस्यहरुमा

देवकुमारी कट्टेल (देवी) ३ सय ३ मत, माईमती राई (सविना) ३ सय १० मत, सञ्जीता तामाङ २ सय ९० मत र सन्तोकी तामाङ २ सय ९२ मतका साथ विजयी बनेका छन् ।

७ पदाधिकारी सहित १५ सदस्यीय कार्यसमितिका लागि आइतबार भएको निर्वाचनमा ६ सय १ मतदातामध्ये ५ सय २८ मत खसेको थियो । सखेको मतमध्ये १६ मत बदर भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार