अस्तव्यस्त बन्यो बिर्तामोडको कृषिथोक बजार

झापा : मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा रहेको कृषिथोक बजार पछिल्लो समय अस्तव्यस्त बन्दै गएको छ ।

दैनिक लाखौँ रुपैयाँभन्दा बढीको तरकारी कारोबार हुने अञ्चलकै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजारमा विकृति मौलाएको जनगुनासो बढ्दै गएको छ ।

बिर्तामोड नगरपालिका वार्ड नं. ५ मा रहेको ३ बिगाहा १९ कठ्ठा जमिनमा अवस्थित कृषि बजारमा खुद्रा तथा थोक विक्रेता गरी ३ सय २ वटा पसल सञ्चालनमा रहेका छन् ।

तर, कृषिथोक बजार क्षेत्रमा लामो समयदेखि जग्गा अतिक्रमण गरेर गैरकानुनी रूपमा बसेका कतिपय व्यापारीलाई हटाउन पटक–पटक गरिएका प्रयास सफल हुन सकेको छैन ।एक त बजार क्षेत्र साँघुरो छ, त्यसमा अर्को समस्या भनेको बजार आउनेले ल्याउने सवारीसाधन र जथाभावी गुड्ने सिटी सफारी हो ।

सवारीको चापले बाटो साँघुरो छ, बजार प्रदुषित छ, जताततै फोहोरको थुप्रो छ अधिकांश उपभोक्ता मोटरसाइकल, कार आदि निजी सवारीमा वा सिटी सफारीमा आउँछन् । अव्यवस्थित पसल सञ्चालनले समस्या भइरहेका बेला सवारीको चापले बजारमा पाइला हाल्नेसम्म ठाउँ पाउन मुश्किल हुन्छ ।

व्यवसायीले जथाभावी पसल राखिदिनाले बजारमा समस्या छ । सवारीको चापले बाटो साँघुरो छ, बजार प्रदुषित छ, जताततै फोहोरको थुप्रो छ ।कृषिथोक बजारमा व्यवसाय गर्ने व्यापारीका पनि आफ्नै समस्या छन् । बजार लाग्ने क्षेत्रमै सवारी पार्किङ गरिँदा व्यवसायीलाई पनि समस्या छ ।

उनीहरु पसल अगाडि नै सवारी ल्याएर रोकिदिने, कृषिथोक बजार भनेको ठाउँमा कृषिका मात्र होइन, अन्य सामग्री पनि राखिदिने गर्नाले समस्या बढेको बताउँछन् ।विशुद्ध कृषि उपजमात्र बेच्न पाउँने भनिएको यो क्षेत्रमा कृषि उपज बाहेकका अन्य सामानहरु पनि खुल्लम खुल्ला किनबेच भैरहेको छ । कृषि उपज थोक बजार संचालक समितिले यसको नियन्त्रण गर्न सकेको छैन ।

कृषिजन्य वस्तु बाहेक फलाम, कपडा, प्लास्टिक, जुत्ताचप्पल, श्रृंगारप्रशाधनका सामान आदिको व्यापार भइरहेको छ । व्यवसायीका अनुसार बजारको व्यवस्थापन गर्ने संस्थाको लापरवाही र निरीहताका कारण समस्या बढेको हो ।अर्को समस्या कृषिथोक बजार छिर्ने गेटमा प्रवेश गर्न नपाउँदै बाटै छेक्ने गरी व्यवसायीले पसल थापेका हुन्छन् । बिगत २० बर्षदेखि निरन्तर सब्जीपसल गर्दै आएकी भावना भट्टराई फुटपाथ ब्यापारीहरुले बाटो नै ढाकिने गरी व्यवसाय सञ्चालन गर्नाले आपूmहरु मारमा परेको बताउँछिन् ।

उनले यस क्षेत्रका सरोकारवाला निकायले ध्यान दिन र यस्ता व्यवसायलाइ उचित ठाउँको व्यवस्थापनमा जोड दिन आग्रह गरेकी छन् ।कृषि उपज थोक बजार सञ्चालक समितिको व्यवस्थापकका रुपमा सुरेशकुमार कामत आएपछि बजारलाई व्यवस्थित बनाउन थप केही प्रयासहरु नभएका होइनन्, तर सबै सरोकारवाला पक्षको समन्वयात्मक पहल नहुँदा सफलता नमिलेको बताइएको छ ।

कामतले भने, ‘बजारमा ३ सय २ वटा पसल रहेकाले थोरै व्यवस्थापनमा समस्या देखिएता पनि हामीले निरन्तर सुधार गरिरहेका छौं । विगतमा भन्दा हाल आएर पाँच वर्गमा छुट्याएर यसमा ४ सय २५ देखि ३ हजार २ सय रुपैयाँसम्म भाडादर कायम गरिएको छ, यसले गर्दा व्यापारीहरुलाई व्यवसाय सञ्चालनमा थप टेवा पुगेको छ ।’त्यस्तै अर्का बधशाला व्यवसायी मोहम्मद राजबुल शेखले कृषि बजार ब्यवस्थापन समितिले उचित मात्रामा अनुगमन नगर्नाले यो स्थिति सिर्जना भएको र यहाँको फोहोरमैला ढल निकास जस्ता समस्याको समाधानतर्फ ध्यान नदिनाले आफूहरु मारमा परेको गुनासो गरे ।

बिर्तामोडको अर्थतन्त्रको एक मुख्य हिस्साको योगदान गर्ने यस कृषिथोक बजार अस्तब्यस्त भएका कारण आम उपभोक्ताहरु मारमा परिरहेका र यसको सुधारका लागि सम्बन्धित निकायले समुचित ध्यान दिन जरुरी रहेको आम सरोकारवालाको भनाइ छ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार