स्थानीय तहमा बैङ्क नहुँदा समस्या 

सुजता सुनुवार 

इलाम : इलामका सात स्थानिय तहमा बैङ्क नहुदा आर्थिक कारोबार गर्न कठिनाई भएको छ ।

जिल्लाका माङसेबुङ्ग, फाकफोकथुम, माइजोगमाई, सन्दकपुर, रोङ, चुलाचुली गाउँपालिका र माइनगरपालिकामा अझैपनि बैंकहरु स्थापना भएका छैनन् । यसबाट सर्वसाधरण , शिक्षक , स्थानिय तहका कर्मचारी र जनप्रतिनिधिलाई समेत समस्या भएको छ ।

निर्वाञ्चनपछि सबै अधिकार गाउँ आउँदा समेत कारोबारका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता ग्रामीण भेगका नागरिकमा रहेको माईजोगमाई गाउँपालिकाका प्रमुख जितबहादुर राईले बताए । उनले बैङ्ककै काम लिएर ४ घण्टासम्मको बाटो हिडेर हप्तौ दिन सदरमुकाम धाउनु परीरहेको दुखेसो गरे । बैङ्क भवनको व्यवस्था गरेर गएको महिनौ बितीसक्दा पनि बैङ्क सञ्चालनमा समस्या भएका कारण हरेक काम गर्न समस्या भएको राईले जानकारी दिए ।

चालु आर्थिक वर्षको बजेट वत्तव्यमार्फत सरकारले वृद्धभत्ता, पेन्सन, शिक्षक भत्ता लगायत स्थानिय तहमा जाने सबै प्रकारका रकम पठाए पनि स्थानीयले भुक्तानी पाउन सकेका छैनन् । सदरमुकाम इलाममा नेपाल बैङ्क, कृषि विकास बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, प्रभु बैङ्क, सनराइज बैङ्क, माच्छापुछ्रे बैङ्क, एनआइ एसिया बैङ्क लगायतका निजी तथा सरकारी बैङ्कले सेवा दिइरहेका छन् ।

इलाममा चार नगरपालिका र छ गाऊपालिका सहित  १० स्थानिय तह रहेका छन् । सरकारले गत चैत्र २९ गते सबै स्थानिय तहमा शाखा खोल्न बैङ्कलाई निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार