आप्रवासी सूचना केन्द्र बन्द हुने अवस्थामा

नयाँ बुलन्द

इलाम : इलाममा सञ्चालित वैदेशिक रोजगार आप्रवासी सूचना केन्द्र बन्द हुने अवस्थामा पुगेको छ । वैदेशिक रोजगारीका लागि जान चाहने युवाहरुलाई परामर्श दिने उद्देश्यले ४ वर्ष अघि स्थापित केन्द्र आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको हो ।

यूरोपियन यूनियनको सहयोगमा जिल्ला समन्वय समितिले केन्द्र सञ्चालन गर्दै आएको थियो । दातृ निकायले सहयोग गर्न छाडेपछि अहिले केन्द्र बन्द हुने अवस्थामा पुगेको हो । अहिलेसम्म मुस्किलले जिल्ला समन्वय समितिबाट सञ्चालन हुँदै आएको केन्द्र अन्य सहयोग नजुटे बन्द हुने निश्चित रहेको जिल्ला समन्वय समिति इलामले जनाएको छ ।

यस्तै केन्द्रमा कार्यरत कर्मचारी अहिले स्थानीय तह पुर्नसंरचनासँगै कर्मचारी समायोजनको क्रममा गाउँमा खटिएकाले थप समस्या उत्पन्न भएको समितिले जनाएको छ ।

वैैदेशिक रोजगारमा जानेहरुले रोजगारीको क्रममा विदेशमा कुनै दुःख कष्ट भोग्न नपरोस्, दलालको फन्दामा नपरुन्, राम्रो काम र दामका लागी पूर्वतयारी कसरी गर्ने, विदेशमा बस्दा कसरी सुरक्षित बस्ने, बिदेशमा कमाएको पैसालाई कसरी सदुपयोग गर्ने लगायतका बिषयमा केन्द्रले परामर्श दिँदै आएको थियो ।

केन्द्रले हालसम्म चार सय ३५ महलिा र तीन हजार सात सय ७८ पुरुष गरी चार हजार एक सय १३ जनालाई बैदेशिक रोजगार सम्बन्धी परामर्श दिएको छ ।

१२ चैत २०७० मा केन्द्र स्थापना भएको थियो । केन्द्र सञ्चालनका लागि जिल्ला समन्वय समितिले आफ्ना कर्मचारी श्याम शेम्बोलाई सम्पर्क व्यक्तिको रुपमा खटाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार