प्रमुख मोबाइल फोन निर्माता सामसुङले ग्यालेक्सी नोट सेभेनकै पार्टपुर्जा प्रयोग गरेर नयाँ मोबाइल बजारमा ल्याउँदै छ । ब्याट्रीमा समस्या देखिएपछि कम्पनीले नोट सेभेनको उत्पादन बन्द गरेको थियो । नोट सेभेनको ब्याट्री पड्कने र आगलागीसम्म भएपछि सामसुङको ब्यापक आलोचना भएकोे थियो ।
सामसुङले नोट सेभेनकै पार्टपुर्जा प्रयोग गरेर नोट फ्यान इडिसन नाममा नयाँ मोबाइल बजारमा ल्याउन लागेको हो । नयाँ मोबाइल वातावरण मैत्री भएको कम्पनीले बताएको छ । सामसुङले जुलाइ ७ बाट नोट फ्यान इडिसन कोरियन बजारमा ल्याउने जानकारी दिएको छ । यो मोबाइलको ब्याट्री सानो र सुरक्षित भएको कम्पनीले जनाएको छ । यो मोबाइल अमेरिकामा भने बिक्री हुनेछैन।
ब्याट्रीमा समस्या र धेरै ठाउँमा दुर्घटना नै भएपछि सामसुङले बजारमा गइसकेको २५ लाख थान मोबाइल फिर्ता लिएको थियो ।
वातावरणविद्हरुले पुरानै पार्टपुर्जाहरु प्रयोग गरेर नयाँ मोबाइल बनाउन कम्पनीलाई दबाब दिएका थिए । उनीहरुले कम्पनीले ‘इ–वेस्ट’ व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएपछि कम्पनीले पुराना पार्टपुर्जा प्रयोग गरेर नयाँ मोबाइल बजारमा ल्याउन लागेको हो ।
शुक्रबारबाट ४० लाख नोट फ्यान इडिसन बजारमा आउनेछ । यसको मूल्य नोट सेभेनको भन्दा ३० पतिशत सस्तो हुनेछ । कम्पनीका अनुसार नोट फ्यान इडिसनको मूल्य ६१५ अमेरिकी डलर हुनेछ । नोट फ्यान इडिसनको लन्चिङले गर्दा ग्यालेक्सी नोट एट् लिन चाहनेहरुले केही समय कुर्नुपर्ने छ । कम्पनीले यही वर्षको अन्त्यतिर नोट एट् बजारमा ल्याउने तयारी गरेको छ ।