डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार पत्रकार नेम्वाङलाई

नयाँ बुलन्द

झापा : नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले आइतवार १९ औँ स्थापना दिवस मनाएको छ । झापाको शनिश्चरेमा कार्यक्रमको आयोजना गरी महासङ्घले स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसर पारेर महासङ्घले झापाका अग्रज पत्रकार टेलिभिजनकर्मी भीम नेम्वाङलाई पुरस्कृत गरेको छ ।

अग्रज पत्रकार डिकमान विरहीको स्मृतिमा स्थापित पुरस्कारबाट नेपाल टेलिभिजनका झापा संवाददाता भीम नेम्वाङ पुरस्कृत भएका हुन् ।  पुरस्कारको राशि २५ हजार १९ रुपैयाँ छ । अढाई दशकदेखि नेम्वाङ पत्रकारितामा क्रियाशील छन् । शालिन र सरल व्यक्तित्वका धनी विरहीको स्मृतिमा महासङ्घले हरेक वर्ष झापाका एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

महासङ्घ झापाका अध्यक्ष विशाल नेम्वाङको अध्यक्षतामा आयोजित समारोहमा फोनिजका बरिष्ठ केन्द्रीय उपाध्यक्ष गजुरधन राईले पत्रकार नेम्वाङलाई नगद र प्रशंसापत्र प्रदान गर्नुभयो । सो अवसरमा डिकमान सुनुवार विरही स्मृति उदीयमान पत्रकारिता पुरस्कारबाट पत्रकार रीताष्मा मुखिया र सविना राई पुरस्कृत भएका छन् ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला आचार्य, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटा, फोनिजका केन्द्रीय सचिव कमन देवान, फोनिजका प्रदेश १ का इन्चार्ज दिपीन राई, झापा ११ फुटवल क्लवका अध्यक्ष एवम् अक्षयकोष दाता जलकुमार गुरुङ लगायतले बोलेका थिए । पुरस्कृत व्यक्तित्वका विषयमा फोनिज झापाका पूर्व अध्यक्ष गणेशमान मुखिया र रमेश समदर्शी राईले प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार