विश्‍व आदिवासी दिवस, दिवसै मात्रै

यस बर्ष संयुक्त राष्ट्रसंघको परिषद बैठकले ‘Indigenous peoples’ migration and movement’ ‘आदिवासीहरुको बसाइसराइको अभियान’ भन्ने नाराका साथ विश्व आदिवासी दिवस ९ अगष्ट (२०७५ श्रावण २४ गते) विश्व भरी मनाइन्दै छ ।

आदिवासी भन्नाले आदिमकालदेखि आफ्नो थातथलोमा बसोवास गर्दै आएका र वर्तमान अवस्थामा पनि बसोवास गरिरहेका मानव समुदायलाई नै आदिवासी भनिन्छ भनि विभिन्न दस्तावेजहरुले परिभाषित गरेको छ । संयुक्त राष्ट्रसंघ,अन्तराष्ट्रिय श्रम संगठन,विश्व बैंक,एसियाली विकास बैंक, नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान ऐन २०५८, बृहत नेपाली शब्द कोष आदिले गरेको परिभाषामा पनि समग्रमा आदिवासी भन्नाले आदिमकालदेखि आफ्नै थातथलोमा बसोवास गर्दै आएका, छुट्टै भाषा लिपी धर्म सस्कृति भएका, आफ्नै परम्परागत सामाजिक संगठन रहेका, मौलिक रहन सहन र भेषभुषा भएका, प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध गाँसिएका साथै राज्यको स्रोत साधनहरुमा पहँुच नभएका समुदायहरु नै आदिवासी जनजाति हुन भनि परिभाषित गरेको पाईन्छ ।

संयुक्त राष्ट्रसंघले गरेको परिभाषाअनुसार ‘आदिवासी भन्नाले बाहिरका मानव समुदायले अतिक्रमण गर्न पूर्व,अनि उनीहरुको भूभागलाई उपनिवेश बनाउनु भन्दा अघि त्याँहा विकसित भएका समाजका सदस्यहरु हुन, जो आज त्यस रहिरहेका तर बाहिरबाट आएका अन्य समुदाय भन्दा जसले आफूलाई अलग देख्छन् । वर्तमान अवस्थामा यिनीहरु समाजमा प्रभुत्वविहिन सामाजिक समूहको रुपमा बाँचिरहेका छन् । जुन समुदायले आफ्नो अस्तित्व र पहिचानको निरन्तरता दिदैं आफ्ना अर्को नयाँ पुस्ताहरुलाई हस्तान्तरण गर्न जो प्रतिवद्ध रहेका छन् ।’

त्यसै गरी अन्तराष्ट्रिय श्रम संगठनले गरेको व्यख्या अनुसार आदिवासी भन्नाले ‘आफ्नै अलग सामाजिक साँस्कृतिक र आर्थिक प्रणालिको कारणले राज्यभित्र रहेका अन्य समुदाय भन्दा अलग छन्, यिनीहरुको जीवन शैली,आफ्नै रितिरिवाज वा परम्परागत र सामाजिक कानुन पूर्ण वा आशिंक रुपमा अलगै लागु रहेको हुन्छ ।’ भन्ने बुझाउँछ ।

विश्व बैंकले गरेको परिभाषामा पनि आदिवासी भन्नाले, ‘प्रभुत्वशाली समाज भन्दा धेरै अलग र छुट्टै साँस्कृतिक र सामाजिक परिचय बोकेका समूह जसको चौतर्फी विकास हुन बाँकी रहेका समुदाय हो ।’

त्यस्तै बृहत नेपाली शब्दकोषमा आदिमकाल देखि बसोवास गर्ने जातिहरु नै आदिवासी हो भनि उल्लेख गरेको छ भने आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ ले गरेको व्याख्याअनुसार जसको छुट्टै भाषा,लिपी,धर्म सस्कृति,भेषभुषा, सामाजिक रहनसहन पेशा व्यवसाय भएका, प्रकृति पुजक साथै जो हिन्दु वर्णाश्रममा नपर्ने समुदाय हो ।

यसरी विभिीन्न संघसंस्था तथा ऐनकानुनहरुले परिभाषित गरेको विश्वका आदिवासीको अधिकारप्रति विश्वको ध्यान केन्द्रीत गराउन संयुक्तराष्ट्रसंघले सर्वप्रथम सन् १९९३ लाई “अन्तराष्ट्रिय आदिवासी बर्ष” को रुपमा मनाउने घोषणा ग¥यो । तर त्यस बर्ष घोषणा मात्र भयो कुनै उल्लेख्य कार्य भने हुन सकेन । अर्को बर्ष विश्वका आदिवासी जनताहरुद्धारा पुनः “आदिवासी दशक” मनाउनु पर्र्छ भनि संयुक्तराष्ट्रसंघमा जोडदार माग गरियो । यसको परिणामस्वरुप सन् १९९४ डिसेम्बर २३ का दिन बसेको राष्ट्रसंघको महासभाबाट प्रस्ताव नं. ४९/२१४ अनुसार सन् १९९५ देखि २००४ सम्मलाई प्रथम विश्व आदिवासी दशक र सन् २००५ देखि २०१४ सम्मलाई दोस्रो आदिवासी दशकको रुपमा हरेक बर्षको अगष्ट ९ का दिनलाई आदिवासी दशकभरी विश्व आदिवासी दिवस मनाउने निर्णय गरियो ।

यसरी विश्वका आदिवासीहरुको समस्या र समाजप्रति विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले राष्ट्रसंघले यो दिवस मनाउने घोषणा गरेपछि नेपालमा पनि नेपाल आदिवासी जनजाति महासंघले विभिन्न कार्यक्रमहरु गरी राजधानी र जिल्लाका सिमित कोठाहरुमा मनाउदै आएता पनि यसको प्रभाव भने मोफसलमा धिमा सुनिन्छ । आदिवासीहरुको मुद्दा र अधिकार बारे सिमित व्यत्तिहरुको बौद्धिक गोजीमा बाहेक जनस्तर सम्म पुग्न नसकेको कुरा छर्लङ्गै छ । जसको उदारण अधिकासं नगरपालिका र गाँउपालिकाहरुले मानव संसाधन विकासका लागि छुटिएको बजेटलाई विकास निर्माणमा रकमान्तर गर्नु जस्ता कृयाकलापले पनि आदिवासीको मुद्दा र अधिकार प्रति जनप्रतिनिधिहरु सकरात्मक नदेखिनुले पनि यस्ता दिवशको नाममा दिवश नै मात्र मनाउने गरेको बुझ्न सक्छौ । उता केन्द्रीय स्तरदेखि जिल्ला स्तरका विगत देखि बर्तमान नेतृत्व पंत्तिहरु पनि आदिवासीलाई स्थानियस्तरमा मानव संसाधनमा प्राप्त अधिकारबाट बन्चित बनि रहन्दा मौन बस्नुले पनि जुगाँको लडाई, स्वार्थ, अवसरवादबाट मुक्त छैनन् भन्नेमा दुईमत छैन ।

आगामी दिनमा केन्द्र देखि जिल्ला स्तरका नेतृत्वकर्ताहरुले आदिवासीको मुद्दा र अधिकारहरुलाई साझा मुद्दाको रुपमा साझा अपनत्वको विकास गर्न नसके सह्रश्राब्दी विकासको दिगो विकास लक्ष्यहरुले अपनाएको शान्तिपुर्ण, न्यायसंगत र समावेशी समाजको निर्माण गर्न सकिन्छ त ? भन्ने उद्देश्य पूरा गर्न चुनौतिपूर्ण छ ।

यस बर्ष पनि नेपालका आदिवासी जनजातिहरु,अफ्रिकी माहादेशका Tribes ल्याटिन अमेरिकाका Indigenous  Communities चीन र युरोपियन राष्ट्रका Nationalities उत्तरअमेरिका Native American Indians क्यानाडाका First Nations अष्ट्रेलिया र न्यूजिल्याण्डका Aborigines ब्राजिलका Samy, Myaya एसियाका Red Indian आदिवासीहरुले पनि अगष्ट ९ का दिन विश्व आदिवासी दिवस मनाउदैछन् । जुन देशका आदिवासीहरुले यो दिवस मनाए पनि आदिवासीहरुको साझा मुद्दा भनेको आफ्नो अतित्व र पहिचानलाई कायम राख्नु नै हो । यसका लागि राज्यपक्ष,गैरसरकारी संस्था साथै शुभचिन्तक सबैको सकरात्मक धारणाको विकास गर्न गराउन पनि यो दिवसलाई विशेष अवसरको रुपमा पनि लिन सकिन्छ ।

 sanilam82@gmail.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार