इलामका होटलमा स्वच्छता र गुणस्तर सुधारको नयाँ पहल

  सिर्जना श्रेष्ठ
140 Shares

इलाम : पर्यटकीय जिल्ला इलाममा होटल तथा रेस्टुरेन्टको सेवा गुणस्तर र खाद्य स्वच्छता सुधार गर्ने उद्देश्यले स्तर वर्गीकरण तथा तालिम कार्यक्रमलाई थप व्यवस्थित रूपमा अघि बढाइएको छ । होटल व्यवसायी संघ इलामको पहल तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको  समन्वयमा बुधबार १० वटा होटल तथा रेस्टुरेन्टमा खाद्य स्वच्छता स्तर मूल्यांकन गरिएको हो ।

होटल व्यवसायी संघ इलामले इलाममा स्तरीकरणयोग्य होटल तथा रेस्टुरेन्ट रहेको भन्दै कार्यालयलाई अनुरोध गरेपछि यसपटक वर्गीकरण गरिएको हो । होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलका अनुसार कोरोना महामारीअघि र पछाडि पनि यस्तो स्तरिकरण गरिँदै आएको छ । यसपटक नयाँ थपिएका होटल तथा रेस्टुरेन्टलाई समेत समेट्ने प्रयास गरिएको उनले बताए । उनका अनुसार पर्यटकहरू प्रायः ठूला होटलमा आकर्षित हुने भएकाले सुरुमा त्यस्ता होटललाई प्राथमिकतामा राखिएको हो । संघले २५ वटा होटल तथा रेस्टुरेन्टको नामावली पठाए पनि समय अभावका कारण १० वटामा मात्र मूल्यांकन गरिएको जनाइएको छ ।

होटल तथा रेस्टुरेन्ट निर्देशिका २०७४ अनुसार उक्त मूल्यांकन गरिएको हो । यसअनुसार ५० वटा मूल्यांकन सूचक र क्षेत्र निर्धारण गरिएको छ, जहाँ प्रत्येक सूचकमा न्यूनतम शुन्य र अधिकतम दुई अंक प्रदान गरिन्छ । प्राप्त अंकका आधारमा होटल तथा रेस्टुरेन्टलाई विभिन्न श्रेणीमा वर्गीकरण गर्ने व्यवस्था गरिएको छ ।

९० भन्दा बढी अंक ‘अतिउत्तम’ श्रेणी, हरियो ३ तारायुक्त स्टिकर

८०–८९ अंक ‘उत्तम’ श्रेणी, हरियो २ तारायुक्त स्टिकर

६५–७९ अंक ‘सन्तोषजनक’ श्रेणी, हरियो १ तारायुक्त स्टिकर

५०–६४ अंक ‘सामान्य’ श्रेणी, पहेँलो स्टिकर

स्तर वर्गीकरणको अवधि १ वर्ष रहने व्यवस्था गरिएको छ । यदि कुनै व्यवसायीले भविष्यमा आवश्यक मापदण्ड पूरा गरी आफ्नो स्तर उन्नति गर्न चाहेमा सम्बन्धित विभागमा जुन सुकै समयमा  निवेदन दिन सक्नेछन् । विभागले पुनः अनुगमन गरी मापदण्ड पूरा भएको खण्डमा स्तर उन्नतिको स्टिकर प्रदान गर्नेछ ।

हालको मूल्यांकनमा इलाम नगरपालिका–७ स्थित होटल समिटले ९० अंक प्राप्त गर्दै ‘अतिउत्तम’ श्रेणीसहित हरियो ३ तारा हासिल गरेको छ । त्यसैगरी होटल ग्रीन भ्यू र होटल सोल्टीले क्रमशः ८१ र ८२ अंक ल्याउँदै ‘उत्तम’ श्रेणीमा हरियो २ तारा प्राप्त गरेका छन् । होटल हाम्रो पोखरेली र अंकित मिठाई भण्डार ‘सन्तोषजनक’ श्रेणीमा परेका छन् भने रेड रोज रेस्टुरेन्ट र चियाबारी क्टेज ‘सामान्य’ स्तरमा सूचीकृत भएका छन् । केही होटल तथा रेस्टुरेन्ट भने आवश्यक मापदण्ड पूरा गर्न नसक्दा स्तरिकरणमा पर्न सकेनन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरकी खाद्य अनुसन्धान अधिकृत प्रकृति वस्तीले इलाममा धेरै होटलहरू घरमै सञ्चालन भइरहेका छन् । भौतिक पूर्वाधार मुख्य चुनौतीका रूपमा देखिएको छ । त्यसमाथि भाडामा सञ्चालन भइरहेका व्यवसायमा आवश्यक मापदण्ड पूरा गर्न थप कठिनाइ हुने गरेको उनले बताइन् । यद्यपि पछिल्लो समय आफ्नै लगानीमा निर्माण भएका होटल तथा रेस्टुरेन्टहरू अत्याधुनिक ढाँचामा सञ्चालन भएको पाइएको छ । साथै उनले दिएको सुझावहरूलाई केही व्यवसायीले सकारात्मक रूपमा लिएको र थप सुधार गर्ने प्रतिबद्धता जनाएको उनले बताइन् ।
यसैबीच, विभागले बैशाख १५ गते इलामका होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूका लागि एकदिने खाद्य स्वच्छता सम्बन्धी तालिमसमेत सञ्चालन गरेको थियो । उक्त तालिममार्फत खाद्य सुरक्षा, सरसफाइ, भण्डारण तथा सेवा व्यवस्थापनका आधारभूत मापदण्डबारे जानकारी दिइएको थियो ।

होटल ग्रीन भ्यूका सञ्चालक प्रेम सापकोटाले यस्ता तालिम र मूल्यांकनले होटल तथा रेस्टुरेन्टको सेवा स्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार ‘नियमित अनुगमन र तालिमले व्यवसायीलाई आफ्नो कमजोरी पहिचान गर्न र सुधार गर्न प्रेरित गर्छ, जसले समग्र सेवा गुणस्तर उकास्न मद्दत पुर्‍याउँछ ।’

व्यवसायीहरूले यस्ता प्रकारका स्तरिकरण तथा तालिम कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले भने, यसले उपभोक्ताको स्वास्थ्य सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने र इलामको पर्यटन छवि सुधार्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।

समग्रमा, स्तर वर्गीकरण, अनुगमन तथा तालिमलाई एकसाथ अघि बढाउने यस पहलले इलामको होटल तथा रेस्टुरेन्ट क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र गुणस्तरीय बनाउने विश्वास गरिएको छ ।

तस्बिरहरु :  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार