
इलाम : इलामको माङसेबुङ गाउँपालिका-३ स्थित चतुरेमा जारी ‘चतुरे बजार कृषि तथा पर्यटन महोत्सव प्रथम खुला नकआउट फुटबल प्रतियोगिता’ मा बुधबार गोर्खा स्पोर्टिङ क्लब र चर्च बोइज क्लब माङसेबुङ विजयी भएका छन् ।
दुवै टिम टाइब्रेकरमा भाग्यमानी सावित गर्दै अघिल्लो चरण प्रवेश गरेका हुन् । पहिलो खेलमा युथ अफ माङसेबुङसँग २-२ गोलको बराबरी खेलेको गोर्खाले टाइब्रेकरमा विजेता बन्यो ।
दोस्रो खेलमा इभाङ ३ एफसीसँग २-२ गोलको बराबरी खेलेको चर्ज बोइजले पनि टाइब्रेकरको माध्यमबाट नै विजेता बन्दै अघिल्लो चरण प्रवेश गर्यो ।
प्रतियोगिता अन्तर्गत बिहीबार पनि दुई खेल सञ्चालन हुनेछन् । पहिलो खेलमा फ्युचरस्टार र गैरीगाउँ एफसीबिच एवम् दोस्रो खेलमा दशमी युवाक्लब र चिबुवा एफसीबिच प्रतिष्पर्धा हुने मुख्य आयोजक समिति सचिव अनिस सुनुवारले जानकारी दिए ।
फुटबल प्रतियोगितामा झापा, इलाम र पाँचथरका १६ टिमको सहभागिता रहेको छ । फुटबलका विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको फाइनल वैशाख १ गते हुनेछ ।
चतुरे बजार कृषि तथा पर्यटन प्रवर्द्धन समितिको आयोजनामा चतुरे बजार कृषि तथा पर्यटन महोत्सव अन्तर्गत फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ ।



















































