इलाम बजारमा सार्वजनिक शौचालय अभावमा सर्वसाधारण हैरान, मेयर केदार थापा भने फेसबुक प्रचारमै व्यस्त

इलाम : इलाम बजारमा सार्वजनिक शौचालयको अभाव हुँदा  सर्वसाधारण हैरान भएका छन्। यात्रु, व्यापारी, विद्यार्थी र स्थानीय बासिन्दा सबैले दैनिक रुपमा असुविधा भोगिरहेका बेला इलाम नगरपालिका भने फेसबुक र सामाजिक संजालका ‘गफ र फोटो’मै सीमित बनेको देखिन्छ।

नगरप्रमुख केदार थापा पछिल्लो समय सामाजिक संजालमा विभिन्न योजनाहरू आफ्नो पहलमा सम्पन्न भएको भन्दै निरन्तर सक्रिय देखिन्छन्। कहिले सडक मर्मत, कहिले विकास योजना  हरेक गतिविधि “मेरै पहलमा भयो” भन्ने शैलीमा प्रचार भइरहेको छ। तर यता नागरिकका आधारभूत समस्या भने बेवास्ता भइरहेका छन्।

इलाम बजारमा दैनिक सयौं मानिस ओहोरदोहोर गर्छन्। तर बजार क्षेत्रमा पर्याप्त सार्वजनिक शौचालय छैनन् भने भएका शौचालय पनि व्यवस्थित छैन। यात्रुहरू होटल, पसल वा निजी घरको शौचालय प्रयोग गर्न बाध्य छन्।

बसपार्क नजिकै होटल सन्चालन गरिरहेका योगेन्द्र लावतीले भने, “नगरपालिकाले यसो गरे र त्यसो गरे भनेर प्रचार चाहिँ गर्छ, तर शौचालय जस्तो आवश्यक संरचना निर्माणमा चासो छैन।” उनी भन्छन्, “पर्यटकहरू इलाम बजार आउँछन्, तर शौचालय खोज्दा अप्ठ्यारोमा पर्छन्। यस्तो अवस्थामा पर्यटन प्रवर्द्धन कसरी सम्भव हुन्छ?”

बसपार्क क्षेत्रमा जताततै दुर्गन्ध फैलिएको छ खुला शौच गरेर। यस्तो अवस्था लामो समय रहिरहेमा बजार क्षेत्रमा सरसफाइ र स्वास्थ्य समस्या बढ्ने निश्चित छ।

तर यता नगरप्रमुख थापा भने निरन्तर सामाजिक सञ्जालमै व्यस्त छन्। उनको पेजमा “मेरै पहलमा भयो”, “मेरो योजना अन्तर्गत सम्पन्न भयो” भन्ने पोस्टहरूले भरिएको छ। तर जनताको दैनिक आवश्यकता र सरोकारका विषयमा ठोस काम देखिँदैन।

एक स्थानीय युवाले व्यङ्ग्य गर्दै भने, “मेयरसाबको फेसबुकमा विकास भैरहेको छ, तर इलाम बजारमा दुर्गन्ध फैलिरहेको छ।”
जिल्लाको सदरमुकामको नगरपालिका कार्यालयले नागरिकको यस्तो पीडा नदेखेजस्तो व्यवहार गर्दा सर्वसाधारण निराश बनेका छन्। उनीहरू भन्छन् — “हाम्रो माग ठूला होइनन्, बस् बजारमा पर्याप्त सार्वजनिक शौचालय बनाइदिउन्, फेसबुकमा प्रचारको होइन, ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार