राजदुवाली खण्डमा सडक दबिएपछि पुनःस्थापनाको प्रयास तीव्र

इलाम :  मेची राजमार्गअन्तर्गत राजदुवाली खण्डमा पुनः सडक दबिएपछि सडक डिभिजन इलामले पुनर्स्थापनाको काम तीव्र पारेको जनाएको छ।
हिजो राति करिब ११ बजेसम्म निरन्तर काम गरी तीनवटा खण्डमा सडक उल्लेख्य रूपमा पुनर्स्थापना गरिएपछि आज दिनभरमा यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम अघि बढाइएको सडक डिभिजनले जनाएको छ।

डिभिजनका अनुसार हाल तयार पारिएको सडक पहिरो माथिको अस्थायी संरचना भएकाले तलपट्टि निरन्तर पानी बगिरहेकाले सडक दबिनु अप्रत्याशित नभई स्वाभाविक भएको हो।
जियो–टेक्निकल विज्ञ डा. मधुसुदन आचार्यको निर्देशनमा सडकको मिहिन अध्ययन भइरहेको र हालको काम उहाँकै निगरानीमा भइरहेको डिभिजनले स्पष्ट पारेको छ।

डा. आचार्यका अनुसार सडक दबिने क्रम अझै केही दिन वा हप्ता चल्न सक्ने सम्भावना छ। यस अवधिमा सडक डिभिजन इलामले दबिएका स्थानमा खोला किनाराका ढुंगा–रोडा राखी सडक सञ्चालनमा राख्नेपानी निकास व्यवस्थापनमा विशेष ध्यान दिने बताएको छ।

डिभिजनले अहिले मेची राजमार्ग सञ्चालनयोग्य रहेको बताउँदै दीर्घकालीन समाधानका लागि विस्तृत अध्ययनपछि मात्र स्थायी निर्णय लिने तयारी जनाएको छ।
वैकल्पिक सडकहरूमा पुल बगाएका कारण तत्काल अन्य मार्ग प्रयोग गर्न नसकिने जनाएको छ।

सडक डिभिजनका अनुसार हालको मुख्य प्राथमिकता इलाम सदरमुकामसम्म साना सवारीसँगै आपूर्तिका ठूला गाडी सञ्चालनमा ल्याउने हो।
जनतालाई धैर्य र सहयोगका लागि आग्रह गर्दै डिभिजनले भनेको छ, “हामी निरन्तर काममा छौं, कृपया धैर्यता राखिदिनुहोस्।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार