हेँवा खोलामा मोडुलर पुल जडान सम्पन्न, चाँडै यातायात सञ्चालन हुने

 

पाँचथर : फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने मेची राजमार्ग अन्तर्गत हेँवा खोलामा ७० मिटर लम्बाइको मोडुलर पुलको जडान कार्य सफलतापूर्वक सम्पन्न भएको छ। साउन १७ गते सुरु गरिएको काम ११ दिनमै सम्पन्न भएको हो।

बाढीले दुईपटक पुल बगाएपछि पुनः जडान कार्य सुरु गरिएको थियो। जेठ ३१ मा भएको दुर्घटनामा ३ जनाको निधनपछि निर्माण प्रभावित भएको थियो। त्यसपछिको पहलमा भारत सरकारको सहयोगमा आवश्यक सामग्री प्राप्त भई जिआरएसई कम्पनीका १८ विशेषज्ञसहित पुल जडान गरिएको हो।

सडक विभागले यो पटक कार्यस्थलमै १० दिने तालिम सञ्चालन गरी आफ्ना ३२ जना प्राविधिकलाई दक्ष बनाएको छ। साउन २८ मा लोड टेस्ट समेत सफल भएको पुलको एप्रोच रोड र सुरक्षा संरचना बनेपछि ५–६ दिनभित्र यातायात सञ्चालन हुने जनाइएको छ।

निकट भविष्यमा पक्की पुल निर्माणको तयारी भइरहेको छ भने हालको पुलमा भार क्षमता भन्दा बढी लोड नगर्न विभागले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार