इलाम : इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सामुदायिक शिक्षाको स्तरवृद्धि र गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाले विगत वर्षदेखि सामुदायिक विद्यालय तथा बाल विकास कक्षामा कार्यरत शिक्षक र सहयोगी कार्यकर्ताहरूलाई प्रदान गरिँदै आएका सेवा–सुविधालाई निरन्तरता दिने भएको छ । मातृभाषामा पठनपाठनलाई प्रोत्साहित गर्दै लिम्बू, राई–बान्तवा भाषा शिक्षक र कम्प्युटर प्रशिक्षक स्वयंसेवकहरूलाई पोशाक भत्तासहित अनुदानको व्यवस्था गरिनेछ ।
विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न माध्यमिक तहका गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक दरबन्दी नभएका विद्यालयहरूलाई अनुदान प्रदान गरिने भएको छ । साथै, आधारभूत तहसम्म विद्यार्थी टिकाइराख्न दिवा खाजा कार्यक्रम, छात्राहरुलाई नि:शुल्क स्यानिटरी प्याड वितरण तथा प्राविधिक धारका विद्यालय सञ्चालनलाई प्राथमिकतामा राखिएको छ ।
गाउँपालिकाले मातृभाषाका पाठ्यक्रम तथा स्थानीय पाठ्यपुस्तक निर्माण, पुस्तकालय व्यवस्थापन, विज्ञान प्रयोगशाला स्थापना र सूचना प्रविधिको प्रभावकारी प्रयोगलाई निरन्तरता दिने जनाएको छ । एसइइ परीक्षाका सर्वोकृष्ट विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिसहित सम्मान गरिनेछ भने आधारभूत तहको परीक्षा पनि गाउँपालिका स्तरमै सञ्चालन हुनेछ ।
शिक्षक तथा अभिभावकहरूसँग नियमित अन्तरक्रिया र गोष्ठी मार्फत अभिभावक शिक्षा कार्यक्रमलाई व्यापक बनाइने गाउँपालिकाले जनाएको छ । साथै, प्रतिभाशाली विद्यार्थी पहिचान र विकासका लागि प्रतियोगिता कार्यक्रम, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र लोकसेवा तयारी कक्षा सञ्चालनलाई पनि बजेट सुनिश्चित गरिएको छ ।
शिक्षकहरूको पेशागत सिप विकासका लागि नियमित तालिम सञ्चालन, विद्यालय अनुगमन तथा सुपरीवेक्षणलाई प्रभावकारी बनाउने नीति ल्याइएको छ । “स्किल अफ प्राइडे” कार्यक्रममार्फत सिप विकास, योग र साधनाका अभ्यासहरू विद्यालय तहमै लागू गरिने भएको छ ।
गाउँपालिकाले सबै वडाका सामुदायिक विद्यालयहरूलाई अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्न पहल गर्ने तथा बाल विकास कक्षाको स्तरवृद्धिका लागि आवश्यक बजेटको व्यवस्था गर्ने जनाएको छ ।
यसरी माङसेबुङ गाउँपालिकाले शिक्षा क्षेत्रमा सबैखाले सुधारका कार्यक्रम ल्याएर सामुदायिक विद्यालयहरूको स्तर उकास्ने, शिक्षाको पहुँच वृद्धि गर्ने तथा विद्यार्थी-अभिभावक-शिक्षकबीच सुमधुर सम्बन्ध विकास गर्दै समृद्ध शिक्षित समुदाय निर्माणको दिशामा अघि बढ्ने अठोट व्यक्त गरेको छ ।



















































