देउमाईका ३१२ जनाले सुत्केरी पोषण भत्ता पाए

  नयाँ बुलन्द
168 Shares

इलाम : इलामको देउमाई नगरपालिकाबाट एक वर्षमा ३ सय १२ जना सुत्केरीले पोषण भत्ता पाएका छन् । गत आर्थिक वर्ष २०७९/०८० मा देउमाई नगरभित्र स्थायी रूपमा बसोबास गरेका ३ सय १२ जना सुत्केरीले १५ लाख ६० हजार पोषण भत्ता पाएका हुन् ।

त्यसैगरी चालु आवको पहिलो त्रैमासिकमा १ सय १० जना सुत्केरीले पोषण भत्ता लिएका छन् । पहिलो त्रैमासिकमा ५ लाख ५० हजार पोषण भत्ता दिइएको लेखाअधिकृत गजेन्द्र येक्तेनले जानकारी दिए ।देउमाई नगरपालिकाले सुत्केरी शिशु पोषण व्यवस्थापन कार्यक्रमअन्तर्गत सुत्केरीलाई पाँच हजार पोषण भत्ता उपलब्ध गराउँदै आएको छ ।

पोषण भत्ता पाउनका लागि देउमाई नगरभित्र स्थायी रूपमा बसोबासी भएको नागरिक हुनुपर्ने साथै कुनै पनि स्वास्थ्य संस्थामा चारपटक गर्भ जाँच गरेको र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिन भित्रको आमा र बच्चालाई उत्प्रेरणा र पोषण स्थितिमा आमा र बच्चाको स्वास्थ्य सुधार गर्नका लागि कार्यक्रम ल्याइएको नगरप्रमुख सूर्य पोख्रेलले बताए । ‘सुत्केरी आमा र नवजात बच्चालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकरात्मक सन्देश प्रवाह गर्नका लागि सुत्केरी शिशु पोषण व्यवस्थापन कार्यक्रम लागू गरिएको हो’, नगरप्रमुख पोख्रेलले भने ।

सुत्केरी पोषण भत्ता एक जना महिलालाई दुई वटा बच्चा वा दुईपटक प्रसूति सेवासम्म मात्र उपलब्ध गराउँदै आएको छ । देउमाई नगरपालिकाले चालु आवमा सुत्केरी शिशु पोषण व्यवस्थापन कार्यक्रमका लागि २० लाख विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार