रोङमा प्रस्तावना, प्रतिवेदन र माइन्युट लेखन तालिम सकियो

रोङ : ईलामको रोङ गाउँपालिकामा आदिवासी जनजातिहरुका लागि संचालित क्षमता अभिवृद्धि कार्यक्रम (प्रस्तावना, प्रतिवेदन र माइन्युट लेखन तालिम) सोमबार सम्पन्न भएको छ ।

रोङ गाउँपालिकाको सहयोगमा नेपाल आदिबासी जनजाति महासंघ गाउँ समन्वय परिषद रोङको आयोजना भएको तालिममा रोङ गाउँपालिकाको ९ वटा वटा जातीय संस्थाका ६ महिला सहित १८ जनाको सहभागिता रहेको थियो ।

तालिमका सहभागीहरुलाई प्रस्तावना लेखन विषयमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष राम योङहाङ, प्रतिवेदन लेखन विषयमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदका अध्यक्ष सोनाम योल्मु र माइन्युट लेखनका विषयमा रोङ गाउँपालिकाका प्रशासन शाखा प्रमुख नेत्र पोखरेलले सहजीकरण गरेका थिए ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोङ ३ का वडाअध्यक्ष बरालले तालिममा सिकेको ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न आग्रह गरे । सहभागीका तर्फबाट पुस्पा गुरुङ, ईन्दिरा सुब्बा (राई) र धिरेन लिम्बुले तालिम उपलब्धिमूलक रहेको प्रतिक्रिया दिए ।

कार्यक्रममा शान्ति निकेतन माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भुपाल खड्का, पाथिभरा संरक्षण समितिका सचिव दिलिप राई, रोङसे जुठिका दावा छिरिङ लाप्चाले मन्तव्य राखेका थिए ।

सहभागीहरुलाई प्रमुख अतिथि वडाध्यक्ष बरालले प्रमाणपत्र प्रदान गरे । नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद रोङका अध्यक्ष रन्जित राईको अध्यक्षता भएको कार्यक्रमको संचालन सचिव बलबहादुर तामाङले गरेका थिए ।

रोङ गाउँपालिकामा लाप्चा, राई, लिम्बू, भुजेल, मगर, सुनुवार, तामाङ, नेवार र गुरुङ जातिको जातिय संस्थाहरु क्रियाशील छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार