धनकुटा : धनकुटाको इतिहाससँगै जोडिएको एउटा महत्वपूर्ण स्थान हो तल्लो टुंडिखेल ।
लामो समयसम्म मर्मत अभावका कारण जीर्ण बन्दै गएको ऐतिहासिक टुंडिखेल अहिले भने आधुनिक र पूर्वाधारयुक्त बनाइएको छ ।
राणा प्रधानमन्त्री देव शम्सेरले धनकुटा बसाइका क्रममा काठमाडौंमा जस्तै सानो आकारका दुई धरहरा निर्माण गर्न लगाएका थिए ।
धरहरा संगैको खालि जमिनलाई त्यतिबेलै देखि खुल्ला मैदानको रुपमा बिकास गरिएको थियो ।
बिभिन्न खेलकुदसहित सामान्य कार्यक्रम त्यहि बेलादेखि यहि हुने गर्दथ्यो ।
हालको धनकुटा–५ स्थित तल्लो टुँडिखेलमा अहिले भने पक्की प्याराफिट, सूविधायुक्त मञ्च, मैदान सम्याउने, दुवो लगाउने र वरिपरी तार घेरावार गर्ने काम गरिएको छ ।
धनकुटा नगरपालिकाको स्वामित्वमा रहेको सो टुँडिखेल धनकुटा फुटवल संघले २५ वर्षका लागि भाडामा लिइ मैदानको व्यवस्थापनको कार्य सुरु गरेको हो ।
अघिल्लो आर्थिक वर्ष संसद विकास कोषको १० लाख ५० हजार र राष्ट्रिय खेलकुद परिषद्को ५ लाख, धनकुटा नगरपालिकाको ७० लाख रुपैयाँको आर्थिक सहयोगमा मर्मत गरिएको हो ।
यो ऐतिहासिक टुडिखेल देशकै नमुना रंगाशाला हुने धनकुटा–५ वडाका वडासदस्य तथा सहिद भीमनारायण स्मृति प्रतिष्ठानका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।
देव शम्सेरको पालामा पहिलो पटक स्थापना गरिएको टुडिखेल पछि २०३० सालमा थप जग्गा अधिग्रहण गरी २०४० सालमा सामान्य प्याराफिट र मञ्च निर्माण गरिएको थियो । त्यस यता कुनैपनि मर्मत हुन नसकेको टुडिखेल अहिले भने आधुनिक र पुर्बाधार युक्त बनाइएको हो ।
सहिद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप पूर्वी क्षेत्रकै प्रतिष्ठित फुटवल प्रतियोगिता भएपनि मैदानको स्तर राम्रो नहुँदा ठूला क्लवले सहभागिता जनाउन मान्दैन थिए ।
तर अब स्तरउन्नोत्ति भएपछि देशमै नाम चलेका प्रतिष्ठित क्लव प्रतियोगितामा सहभागी हुने तथा अन्य थप प्रतियोगिता गर्न सजिलो हुने भएकाले जिल्लामा खेलको रौनक अझै बढ्ने जिल्ला फुटबल संघ धनकुटाका अध्यक्ष गोबिन्द राई बताउन्छन् ।
त्यसो त कहिले गोल प्रजेक्टको नाममा त कहिले मैदानको स्तारोन्नती गर्ने चर्चा पटक पटक नचलेको भने हैन ।
तर काम हुन सकेको थिएन । यो मैदानको स्तरोन्नती पछि लम्वाइलाई वढाएर अहिले १ सय १० मिटर र चौडाहा बढाएर ७० मिटर बनाइएको छ ।
यहि मैदानले धनकुटाबाट किरण चेम्जोङ्ग, बुद्ध चेम्जोङ्ग, सुजल श्रेष्ठ लगायतका राष्ट्रिय स्तरमा ख्यातिप्राप्त खेलाडीे समेत जन्माइसकेको छ ।
भिडियाे : https://www.youtube.com/watch?v=P6G9NH1JLQU



















































