
इलाम : जिल्लाको उच्च भेगस्थित सन्दकपुर डाँडामा गएरातिदेखि हिमपात भएको छ । सन्दकपुर गाउँपालिकाका उच्च क्षेत्रमा वर्षापछि सुरु भएको हिमपातले आसपासका डाँडाकाँडा सेताम्य बनेका छन् ।
स्थानीयकाअनुसार गएराति पानी परेपछि तापक्रम घटेसँगै हिमपात सुरु भएको हो । बिहानसम्म निरन्तर जस्तो देखिएको हिमपातले सन्दकपुर क्षेत्रका पर्यटकीय स्थलहरू आकर्षक देखिएका छन् भने चिसो समेत बढेको छ ।

हिमपातका कारण उच्च भेगमा आवतजावतमा केही कठिनाइ भएको छ । सन्दकपुर क्षेत्र हिमपातका कारण अझै रमणीय बनेपछि आन्तरिक पर्यटकको आकर्षण बढ्ने अपेक्षा गरिएको छ । साथै, सम्बन्धित निकायले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरेका छन् ।



















































