बन्दुक बिसाएर ‘किवी क्रान्ति’ गरिरहेका कमरेड

  उत्तम पोखरेल
70 Shares

इलाम : कुनै बेला इलामका विकट पहाडी मोर्चामा सशस्त्र संघर्षको नेतृत्व गर्दा सीपी कडरियाको हातमा बन्दुक थियो र मनमा राजनीतिक व्यवस्था परिवर्तनको सपना ।

अहिले समय फेरियो, उनको हातमा माटो र मल छ भने आँखामा हरिया किवीका लहरासँगै आर्थिक समृद्धिको सपना । २२ वर्षअघि तत्कालीन नेकपा (माओवादी)को इलाम जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हालेका कडरियमा अहिले बन्दुकको ठाउँमा कृषि औजार बोकेर उत्पादनको नयाँ मोर्चामा होमिएका छन् ।

उनले राजनीतिलाई पनि बिसाएका छैनन् । यो उनको व्यक्तिगत जीवनको रूपान्तरण मात्र होइन, नेपालको राजनीतिक परिवर्तनपछिको एउटा जीवन्त कथा हो । ‘राजनीतिक क्रान्तिले व्यवस्था फेर्‍यो, तर जनताको अवस्था फेर्न आर्थिक क्रान्ति अनिवार्य रहेछ,’ कडरियाले भने, ‘हामीले वर्ग संघर्षलाई उत्पादन संघर्षसँग जोड्नुपर्छ । अरूलाई उपदेश दिनुभन्दा आफैंले गरेर देखाउनुपर्छ भन्ने सोचेर यो माटोसँग जोडिएको हुँ ।’

शान्ति प्रक्रियापछि मूलधारको राजनीतिमा आएका कडरिया र उनका सहयोद्धासामु एउटा गम्भीर प्रश्न थियो— अब के गर्ने ? पार्टीको हेटौँडा महाधिवेशनले कार्यकर्तालाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने नीति पारित गरेपछि उनलाई नयाँ बाटो पहिल्याउन प्रेरणा मिलेको थियो । यही सोचले २०७६ सालमा ‘सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी’को जन्म भयो । यो कम्पनी कुनै राजनीतिक दस्तावेजमा मात्र सीमित थिएन ।  यो फरक–फरक पृष्ठभूमि र विचारका मानिसहरूको एउटा साझा सपना थियो । उनको समूहमा कोही पूर्वराजनीतिकर्मी छन्, कोही व्यवसायी त कोही बहालवाला कर्मचारी पनि ।

इलामको सन्दकपुर–२ मा आफ्नै लगानीमा खरिद गरिएको ३५० रोपनी जग्गामा उनीहरूले व्यावसायिक कृषिको जग हाले ।  करिब ५ करोड रुपैयाँको लगानीमा फैलिएको फर्ममा १५० रोपनीमा किवी, ३० रोपनीमा ओखर र बाँकी क्षेत्रफलमा लोटसल्लाका बिरुवा रोपिएका छन् । ‘भ्रष्टाचार अन्त्य गर्ने हो भने पहिला आफैं आत्मनिर्भर हुनुपर्छ,’ उनी भन्छन्, ‘उत्पादन र उद्यमशीलतामा नजोडिएका कार्यकर्तालाई अब जनताले पत्याउँदैनन् ।’

किवी रोज्नुको पछाडि गहिरो अध्ययन र स्पष्ट दृष्टिकोण रहेको कडरीयाले बताए । उनले चीनको सिन्चेन प्रान्तको उदाहरण दिँदै भने, ‘त्यहाँका किसानले किवी खेती शुरू गरेपछि प्रतिव्यक्ति आय ७०० गुणाले वृद्धि भयो । किवीले अर्थतन्त्रमा ठूलो उलटपुलट ल्याउन सक्छ भन्ने विश्वासले मलाई यसमा आकर्षित गर्‍यो ।’  इलामको हावापानी र माटो किवीका लागि उपयुक्त हुनुले उनको योजनालाई थप बल दियो ।

कम्पनीले उत्पादन दिन रू गरिसकेको छ । गत वर्ष २५ क्विन्टल किवी उत्पादन भएकोमा यो वर्ष उत्पादन चार गुणाले बढेर १०० क्विन्टल (१० टन) पुग्ने अनुमान छ । ‘किवीको उत्पादन सामान्य हिसाबले होइन, ज्यामितीय अनुपातमा (२, ४, ८, १६) बढ्छ,’ उनी उत्साहित हुँदै सुनाउँछन्, ‘यो वर्ष वार्षिक खर्च धान्ने अवस्थामा पुग्छौं र अर्को सालबाट कम्पनी नाफामा जान्छ ।’

null

यो कृषि उद्यमले स्थानीय स्तरमा रोजगारीको अवसर पनि सिर्जना गरेको छ । वार्षिक रूपमा ३५ सयदेखि ४ हजार जना स्थानीय बासिन्दाले ज्यालादारीमा रोजगारी पाएका छन् । गाउँमै आयआर्जनको ढोका पनि खुलेको छ । उनीहरूको कृषि कर्मले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न सानै भए पनि योगदान दिएको छ ।

कम्पनीको मात्र होइन, कडरिया ‘नेपाल किवी उत्पादक तथा व्यवसायी सङ्घ’का केन्द्रीय अध्यक्ष पनि हुन् । सङ्घमार्फत् उनले नेपालमा किवी खेतीको गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजारीकरणका लागि पहल गरिरहेका छन् । नेपाल सरकारको तथ्याङ्कअनुसार यहाँ वार्षिक १२ करोड ६८ लाख केजी किवी उत्पादन हुन्छ, तर यसको बजार अझै फराकिलो बनाउन बाँकी छ ।

‘किवी उत्पादक किसान निराश हुनुपर्दैन, यसको बजार सुनिश्चित छ । हाम्रो पहिलो लक्ष्य छिमेकी मुलुक भारत हो,’ भारतको बजारबारे उनी भन्छन्, ‘भारतमा वार्षिक ६० करोड केजी किवीको माग छ, तर त्यहाँ १३ करोड केजी मात्रै उत्पादन हुन्छ । बाँकी ४७ करोड केजीको बजार खाली छ, जुन हामीले गुणस्तरीय उत्पादनमार्फत् लिन सक्छौं ।’

null

अहिले उनको कम्पनीले उत्पादन गरेको किवी प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्ममा बिर्तामोडका व्यापारीलाई होलसेलमा बिक्री गरिरहेको छ । भविष्यमा प्रशोधन गरेर जुस, वाइन र क्यान्डी जस्ता उत्पादन बनाउने योजना भए पनि हाललाई भने ताजा फल नै बिक्री भइरहेको छ ।

एक समय राजनीतिक परिवर्तनका लागि बन्दुक बोकेका कडरिया अहिले कृषि औजारसँग रमाइरहेका छन् ।  उनले जुन भूमिमा राजनीतिक सङ्घर्षको नेतृत्व गरे, त्यहीँबाट आर्थिक समृद्धिको सन्देश दिन खोजिरहेका छन् ।  उनको यो यात्राले राजनीतिमा लागेका युवा पुस्ता र विशेषगरी प्रतिभा पलायनको समस्या झेलिरहेका जेनजी पुस्तालाई नेपालमै कृषिमा भविष्य छ भन्ने ठोस सन्देश दिएको छ ।

-लोकान्तरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार