
इलाम : कुनै बेला इलामका विकट पहाडी मोर्चामा सशस्त्र संघर्षको नेतृत्व गर्दा सीपी कडरियाको हातमा बन्दुक थियो र मनमा राजनीतिक व्यवस्था परिवर्तनको सपना ।


अहिले समय फेरियो, उनको हातमा माटो र मल छ भने आँखामा हरिया किवीका लहरासँगै आर्थिक समृद्धिको सपना । २२ वर्षअघि तत्कालीन नेकपा (माओवादी)को इलाम जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हालेका कडरियमा अहिले बन्दुकको ठाउँमा कृषि औजार बोकेर उत्पादनको नयाँ मोर्चामा होमिएका छन् ।
उनले राजनीतिलाई पनि बिसाएका छैनन् । यो उनको व्यक्तिगत जीवनको रूपान्तरण मात्र होइन, नेपालको राजनीतिक परिवर्तनपछिको एउटा जीवन्त कथा हो । ‘राजनीतिक क्रान्तिले व्यवस्था फेर्यो, तर जनताको अवस्था फेर्न आर्थिक क्रान्ति अनिवार्य रहेछ,’ कडरियाले भने, ‘हामीले वर्ग संघर्षलाई उत्पादन संघर्षसँग जोड्नुपर्छ । अरूलाई उपदेश दिनुभन्दा आफैंले गरेर देखाउनुपर्छ भन्ने सोचेर यो माटोसँग जोडिएको हुँ ।’
शान्ति प्रक्रियापछि मूलधारको राजनीतिमा आएका कडरिया र उनका सहयोद्धासामु एउटा गम्भीर प्रश्न थियो— अब के गर्ने ? पार्टीको हेटौँडा महाधिवेशनले कार्यकर्तालाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने नीति पारित गरेपछि उनलाई नयाँ बाटो पहिल्याउन प्रेरणा मिलेको थियो । यही सोचले २०७६ सालमा ‘सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी’को जन्म भयो । यो कम्पनी कुनै राजनीतिक दस्तावेजमा मात्र सीमित थिएन । यो फरक–फरक पृष्ठभूमि र विचारका मानिसहरूको एउटा साझा सपना थियो । उनको समूहमा कोही पूर्वराजनीतिकर्मी छन्, कोही व्यवसायी त कोही बहालवाला कर्मचारी पनि ।
इलामको सन्दकपुर–२ मा आफ्नै लगानीमा खरिद गरिएको ३५० रोपनी जग्गामा उनीहरूले व्यावसायिक कृषिको जग हाले । करिब ५ करोड रुपैयाँको लगानीमा फैलिएको फर्ममा १५० रोपनीमा किवी, ३० रोपनीमा ओखर र बाँकी क्षेत्रफलमा लोटसल्लाका बिरुवा रोपिएका छन् । ‘भ्रष्टाचार अन्त्य गर्ने हो भने पहिला आफैं आत्मनिर्भर हुनुपर्छ,’ उनी भन्छन्, ‘उत्पादन र उद्यमशीलतामा नजोडिएका कार्यकर्तालाई अब जनताले पत्याउँदैनन् ।’
किवी रोज्नुको पछाडि गहिरो अध्ययन र स्पष्ट दृष्टिकोण रहेको कडरीयाले बताए । उनले चीनको सिन्चेन प्रान्तको उदाहरण दिँदै भने, ‘त्यहाँका किसानले किवी खेती शुरू गरेपछि प्रतिव्यक्ति आय ७०० गुणाले वृद्धि भयो । किवीले अर्थतन्त्रमा ठूलो उलटपुलट ल्याउन सक्छ भन्ने विश्वासले मलाई यसमा आकर्षित गर्यो ।’ इलामको हावापानी र माटो किवीका लागि उपयुक्त हुनुले उनको योजनालाई थप बल दियो ।


कम्पनीले उत्पादन दिन रू गरिसकेको छ । गत वर्ष २५ क्विन्टल किवी उत्पादन भएकोमा यो वर्ष उत्पादन चार गुणाले बढेर १०० क्विन्टल (१० टन) पुग्ने अनुमान छ । ‘किवीको उत्पादन सामान्य हिसाबले होइन, ज्यामितीय अनुपातमा (२, ४, ८, १६) बढ्छ,’ उनी उत्साहित हुँदै सुनाउँछन्, ‘यो वर्ष वार्षिक खर्च धान्ने अवस्थामा पुग्छौं र अर्को सालबाट कम्पनी नाफामा जान्छ ।’

यो कृषि उद्यमले स्थानीय स्तरमा रोजगारीको अवसर पनि सिर्जना गरेको छ । वार्षिक रूपमा ३५ सयदेखि ४ हजार जना स्थानीय बासिन्दाले ज्यालादारीमा रोजगारी पाएका छन् । गाउँमै आयआर्जनको ढोका पनि खुलेको छ । उनीहरूको कृषि कर्मले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न सानै भए पनि योगदान दिएको छ ।
कम्पनीको मात्र होइन, कडरिया ‘नेपाल किवी उत्पादक तथा व्यवसायी सङ्घ’का केन्द्रीय अध्यक्ष पनि हुन् । सङ्घमार्फत् उनले नेपालमा किवी खेतीको गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजारीकरणका लागि पहल गरिरहेका छन् । नेपाल सरकारको तथ्याङ्कअनुसार यहाँ वार्षिक १२ करोड ६८ लाख केजी किवी उत्पादन हुन्छ, तर यसको बजार अझै फराकिलो बनाउन बाँकी छ ।
‘किवी उत्पादक किसान निराश हुनुपर्दैन, यसको बजार सुनिश्चित छ । हाम्रो पहिलो लक्ष्य छिमेकी मुलुक भारत हो,’ भारतको बजारबारे उनी भन्छन्, ‘भारतमा वार्षिक ६० करोड केजी किवीको माग छ, तर त्यहाँ १३ करोड केजी मात्रै उत्पादन हुन्छ । बाँकी ४७ करोड केजीको बजार खाली छ, जुन हामीले गुणस्तरीय उत्पादनमार्फत् लिन सक्छौं ।’

अहिले उनको कम्पनीले उत्पादन गरेको किवी प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्ममा बिर्तामोडका व्यापारीलाई होलसेलमा बिक्री गरिरहेको छ । भविष्यमा प्रशोधन गरेर जुस, वाइन र क्यान्डी जस्ता उत्पादन बनाउने योजना भए पनि हाललाई भने ताजा फल नै बिक्री भइरहेको छ ।
एक समय राजनीतिक परिवर्तनका लागि बन्दुक बोकेका कडरिया अहिले कृषि औजारसँग रमाइरहेका छन् । उनले जुन भूमिमा राजनीतिक सङ्घर्षको नेतृत्व गरे, त्यहीँबाट आर्थिक समृद्धिको सन्देश दिन खोजिरहेका छन् । उनको यो यात्राले राजनीतिमा लागेका युवा पुस्ता र विशेषगरी प्रतिभा पलायनको समस्या झेलिरहेका जेनजी पुस्तालाई नेपालमै कृषिमा भविष्य छ भन्ने ठोस सन्देश दिएको छ ।
-लोकान्तरबाट



















































