जेनजी आन्दोलनको प्रशंसा गर्दै मोदीले भने, ‘नेपालको पहिलो महिला प्रधानमन्त्री सशक्तीकरणको उत्कृष्ट उदाहरण’

  नयाँ बुलन्द
56 Shares

मणिपुर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा अन्तरिम सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री मोदी शनिबार मणिपुरको चुराचन्दपुर र इम्फाल पुगेका थिए। मणिपुरबाट सम्बोधन गर्दै उनले भने, ‘नेपाल भारतको घनिष्ठ मित्र हो। साझा इतिहास र आस्थाले हामीलाई जोडेको छ। नेपालमा स्थिरता, शान्ति र समृद्धिको मार्ग सुशीलाजीले प्रशस्त गर्नुहुने विश्वास छ।’

नेपालको पहिलो महिला प्रधानमन्त्री बनेको प्रसङ्गमा उनले यसलाई महिला सशक्तीकरणको प्रेरणादायी कदम भन्दै १४० करोड भारतीय नागरिकहरूको तर्फबाट शुभकामना दिएका हुन्।

Shivam Cement

प्रधानमन्त्रीले नेपालमा हालै देखिएको नयाँ उत्साहप्रति पनि सराहना व्यक्त गरे। उनले भने, “नेपालका युवक–युवतीहरू सडक सरसफाइ र रङरोगनको काममा उत्साहपूर्वक लागेको देखिन्छ। यो सोच र कार्य नेपालमा नवजागरणको सङ्केत हो।” उनले नेपाललाई उज्ज्वल भविष्यको शुभकामना समेत दिएका छन् ।

Embark college

यस्तो छ मोदीको भनाई :

आज मणिपुरको यो भूमिबाट, म नेपालका मेरा साथीहरूसँग पनि कुरा गर्नेछु। हिमालयको काखमा बसेको नेपाल, भारतको एक मित्र हो, एक घनिष्ठ मित्र हो। हामी साझा इतिहासले जोडिएका छौँ, आस्थाले जोडिएका छौँ, सँगसँगै मिलेर अघि बढिरहेका छौँ।

म आज नेपालमा अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा १४० करोड भारतवासीहरूको तर्फबाट श्रीमती सुशीलाजीलाई हार्दिक बधाई दिन चाहन्छु। मलाई विश्वास छ कि उहाँले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ।

नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीलाजीको आगमन महिला सशक्तीकरणको एउटा धेरै उत्तम उदाहरण हो। म आज नेपालका हरेक ती व्यक्तिको सराहना गर्नेछु जसले यस्तो अस्थिरतापूर्ण वातावरणमा पनि लोकतान्त्रिक मूल्य-मान्यतालाई सर्वोपरि राखे।

साथीहरू हो, नेपालमा भएका घटनाक्रममा अर्को एउटा विशेष कुरा पनि रहेको छ, जसतर्फ मानिसहरूको ध्यान गएको छैन। पछिल्ला दुई-तीन दिनदेखि नेपालका युवक-युवतीहरू नेपालका सडकहरूमा सरसफाइ र रङरोगनको काम ठुलो मेहनत र पवित्रताको भावले गरिरहेको देखिँदै छन्। 

सामाजिक सञ्जालमा आइरहेका उनीहरूका तस्बिरहरू मैले पनि हेरेको छु। उनीहरूको यो सकारात्मक सोच, यो सकारात्मक कार्य प्रेरणादायी मात्र होइन, बरु यो नेपालको नवोदयको स्पष्ट सङ्केत पनि हो।

म नेपाललाई उसको उज्ज्वल भविष्यका लागि शुभकामना दिन चाहन्छु।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार