इलाम : प्रदेशस्तरमै पहिलो पटक फुलमती सोङ्मी स्मृति र्पापिड चेस प्रतियोगिता इलाम सदरमुकाममा हुँदैछ । सदरमुकामस्थित बगैंचा रेस्टुरेन्टमा विहान ९ बजेदेखि हुने प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले गर्नेछन् ।
जिल्ला बुद्धिचाल संघ इलामको आयोजनामा र प्रदेश बुद्धिचाल संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको जिल्ला बुद्धिचाल संघ इलामका अध्यक्ष तारानिधि घिमिरेले बताए ।
प्रतियोगितामा १०० भन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगिता स्विस लिग प्रणालीमा ७ चरणमा खेलिनेछ, जसमा प्रत्येक खेलाडीलाई १० मिनेट समय र हरेक चालमा १० सेकेन्ड इन्क्रिमेन्ट दिइनेछ ।
प्रतियोगिताका उत्कृष्ट २९ खेलाडीलाई १ लाख १९ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । प्रदेश विजेताले २० हजार, दोस्रो स्थान हासिल गर्नेले १० हजार, तेस्रो स्थान हासिल गर्नेले सात हजार, चौथो स्थान हासिल गर्नेले छ हजार, पाँचौँ स्थान हासिल गर्नेले पाँच हजार र छैटौँदेखि दशौँ स्थानसम्म हासिल गर्नेले जनही चार हजार रुपैयाँ पाउनेछन् ।
त्यस्तै भेट्रान्स च्याम्पियन, फरक क्षमता भएका खेलाडी र प्रदेश उत्कृष्ट अनरेटेड खेलाडीले चार/चार हजार रुपैयाँ पाउनेछन् ।
विद्यालय तह प्रदेश विजेताले तीन हजार दोस्रोले दुई हजार, हिल्स च्याम्पियन प्रथम हुनेले नगद चार हजार, दोस्रो हुनेले तीन हजार, प्रदेश यु–१६ च्याम्पियन (पुरुष/महिला)ले जनही दुई हजार पाँच सय, इलाम च्याम्पियन प्रथमले चार हजार, दोस्रोदेखि पाँचौँ स्थानसम्म हासिल गर्नेले जनही दुई हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिता स्वर्गीय फुलमती सोङ्मीको सम्झनामा सञ्चालन हुन गालेको हो । प्रतियोगिता सञ्चालनका लागि सोङ्मी परिवारले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छिन् ।