इलाममा ‘चासोक तङनाम’ को तयारी

  नयाँ बुलन्द
434 Shares

इलाम : किरात लिम्बू समुदायले आफ्नो राष्ट्रिय चाड चासोक तङनाम (उधौली पर्व) भव्य रुपमा मनाउने भएका छन् । आफ्नो संस्कार संस्कृतीलाई संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले इलाममा बिहीबार लिम्बू समुदायले चासोक तङनाम हर्षोल्लासका साथ मनाउने तयारी गरेका छन् ।

किरात याक्थुङ चुम्लुङ इलामले इलाम नगरपालिका १० स्थित माइखोला टापुबेंसीमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी चासोक तङनाम मनाउने तयारी गरेको छ । विगतका वर्षहरुझैं लिम्बू समुदायको जमघट गरी तङनाम मनाउने तयारी गरेको किरात याक्थुङ चुम्लुङकी अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् ।

गालीश्राप वहन्ती, या:लाङ (धान नाच), केलाङ (च्याब्रुङ नाच), पक्लुङ (छेलो), ताम्भुङचा (वनभोज), शुभकामना आदानप्रदानलगायतका कार्यक्रम गरी चासोक तङनाम मनाउने तयारी किरात याक्थुङ चुम्लुङ इलामले गरेको छ ।

लिम्बू वाहुल्यता रहेको पूर्वका नौ जिल्लाका साथै हङकङ, बेलायत, सिंगापुर, ब्रुनाई, भारतको सिक्किम, आसाम, वर्मा र थाइल्याण्डमा बस्ने लिम्बु समुदायले समेत चासोक तङनाम सामुहिक रुपमा मनाउने गरेका छन् ।

खेतवारीमा छरपोख गरेर अन्नवाली उव्जाएपछि आफ्नो इष्टदेव तागेरा निङ्वाफुमाङलाई पहिले अर्पण गरेपछि मात्र आफुले खाएर मनाउने खुशियालीको अवसरमा चासोक तङनाम मनाइने गरिएको छ ।

चासोकको अवसरमा तन्नेरीहरु च्याब्रुङ बजाएर नाच्दै साइनो नलाग्ने युवायुवतीहरु एकापसमा हात समाएर पालाम गाउँदै धान नाच्ने गरेका छन् । यो चाडलाई लिम्बु समुदायहरु एकअर्काबीचमा एकता र मेलमिलापको रुपमा समेत लिने गरेका छन् ।

आफ्नो इष्टदेवसँग बल, बुद्धि, सुस्वास्थ्य र दीघार्युको वरदान पनि माग्दा पाउने लिम्बु समुदायको विश्वास छ । चासोक तङ्नाममा तोङ आप्मा, धनुकाड हान्ने, लि आप्मा, गुलेली हान्ने, खेङ आप्मा, माछा मार्ने, पक्लुङ लेप्मा, छेलो हान्ने, थाक थाक्मा जस्ता परम्परागत खेल र प्रवधिको प्रदर्शन पनि गरिएको छ ।

आधुनिक प्रविधि, जीवनशैली, परिवर्तित समाज, भुमण्डलीकरण आदि कारणले नयाँ पुस्ताले मौलिक सांस्कृतिक चाडपर्वहरु बिर्संदै गएकाले किरात याक्थुङ चुम्लुङले ०४८ सालदेखि व्यबस्थित र सामुहिक रुपमा चासोक तङ्नाम मनाउदै नयाँ पुस्तालाई जानकारी दिने र हस्तान्तरण गर्ने उदेश्यले भव्यता दिन थालेको हो ।

चासोक तङनाम के हो ?

किरात लिम्बूहरूको महान चाड चासोक तङ्नाम प्रत्येक मंसीर पूर्णिमामा मनाइने एक प्राचिन तथा मौलिक चाड हो । खसआर्य भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङनाम’ को अर्थ चाडपर्व हुन्छ । किरात लिम्बूहरूले चासोक तङनामलाई प्रमुख चाडको रुपमा मनाउँदै आएका छन् । किरात मुन्धुम अनुसार कृषियुग सुरु हुनभन्दा अगाडि किरात लिम्बूहरूको पुर्खाहरूले कन्दमुल काँचै खाने गर्दथे । त्यस कारण कुपोषण भई अनेकौं रोग लाग्यो । रोगबाट मुक्ति पाउन मेन्निमाङ, मेन्थामाङ तागेरा निङ्वाफुमाङको प्रार्थना गरे । प्रार्थना गर्दा तागेरानिङ्वाफुमाङले पेना (कोदो), पारामा (कोदोसँगै फल्ने कोदो जस्तो) तुम्री (जुनेलो), ताक्मारु (घैया) लगायतको विउविजन उनै तागेरा निङ्वाफुमाङले दिलाउनु भयो ।

पुर्खाहरूले उक्त विउविजन पाएपछि, ति पुर्खाहरूका चेली सिवेराएःक्थुक्मा सिवेरा याबुकेक्माले काठको खन्ती र अङकुसेको सहयोगले खोरीया फाडेर अन्नको विउ छरी फलाईन् । त्यसपछि सावायेत्हाङहरूले खेतीपाती गर्न सिके । फलाएको अन्न आगोमा पकाई खान थाले । उनीहरूलाई रोग पनि लाग्न छोड्यो । सन्तानहरूलाई पनि रोगले आक्रमण नगरेपछि जनसंख्या बढ्न थाल्यो । खेती गरेर अन्न फलाउन सिकाउने आफ्ना चेलीको यो पुन्य कामदेखि खुशी भई सावा येत्हाङहरूले उनलाई आशिष र बरदानका रुपमा आफूले फलाएको अन्न चेली सिवेरा एःथुक्मा सिवेरा याबुकेक्मालाई नाली कुजेन भनी चढाएपछि मात्र खाने बाचा गरे । सोहि समयदेखि किरात लिम्बू जातिमा चासोक तङनामको थालनी भएको किरातको मुन्धुममा बर्णन गरिएको पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार