
इलाम : आदिवासी लिम्बूहरुको साझा संगठन किरात याक्थुङ चुम्लुङले सप्ताहव्यापी कार्यक्रम गरि ३२ औं स्थापना दिवस मनाएको छ ।
विश्व महामारी कोरोना भाइरस (कोभिड १९) लाई दृष्टिगत गरि सामाजिक/भौतिक दूरी कायम गर्दै केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला तथा गाउँ/नगर समितिले विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा चुम्लुङ केन्द्रीय समिति र विभागले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्यो । गत शुक्रबारदेखि बुधबारसम्म ७ वटा कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको हो ।
बुधबार जिल्ला समितिहरुको आयोजनामा छात्रवृति वितरण तथा केन्द्रीय समितिको आयोजनामा भर्चुअल विश्वव्यापी शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
जिल्ला समितिको आयोजनामा ४ विधामा छात्रवृति वितरण गरेको हो । याक्थुङ सहयोग कोष छात्रवृत्ति, स्व. देवीबहादुर आङबुहाङ लिम्बू छात्रवृत्ति, श्रीमती खेममाया सिङ्घक आबुहाङ लिम्बू स्मृति छात्रवृत्ति र कियाचु इजरायल कल्याणकारी कोष छात्रवृत्ति वितरण गरको हो ।
लिम्बुवानका ९ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा जिल्ला समितिले आआफ्नो जिल्लामा छात्रवृत्ति वितरण गरेका हुन् ।
त्यसैगरी विदेश शाखा समेतको सहभागीतामा भर्चुअल विश्वव्यापी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो (मौसम) र निवर्तमान प्रदेश प्रमुख गोविन्द तुम्बाहाङसहित विदेश शाखाका १५ बढी प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए ।
केन्द्रीय समिति र विभिन्न विभागले ५ वटा कार्यक्रम सम्पन्न गरेको थियो । केन्द्रीय समितिले शुक्रबार विषयगत समिति, प्रदेश र जिल्ला समितिसँग ‘लिम्बू सामूहिकताको लागि चुम्लुङको भूमिका’ विषयक भर्चुलअ अन्तरक्रिया गरेको थियो ।
शनिबार कियाचु लिम्बुवान स्टडी सेन्टरले ‘आदिवासी लिम्बूहरूको प्रथाजनित संस्था र पैतृक भूमिको जाँच’ विषयक भर्चुलअ अन्तरक्रिया गरेको थियो । आइतबार कियाचु नवजीवन केन्द्रले ‘अत्यधिक मादक पदार्थ सेवन न्युनीकरण’ विषयक भर्चुअल अन्तरक्रिया गरेको थियो ।
सोमबार किरात याक्थुङ चुम्लुङ कियाचु लिम्बू साँस्कृतिक परिषदले ‘मुन्धुम पान:थङ थिम्बे’ विषयक भर्चुअल अन्तरक्रिया गरेको थियो । मंगरबार केन्द्रीय समितिले आदिवासी जनजाति, राजनीतिक दल र लिम्बूजन्य संगठनहरुसँग ‘शुभकामना आदानप्रदान अर्चुअल समारोह’ आयोजना गरेको थियो ।
२०४६ सालमा स्थापना भएको चुम्लुङको हाल लिम्बुवान र नेवा-ताम्सालिङ प्रदेश समिति तथा मातहतका विभिन्न जिल्ला र स्थानीय तहमा समेत संगठन विस्तार भई क्रियाशील छ ।



















































