इलाम : वातावरणको स्वच्छता कायम गर्नका लागि इलाम नगरपालिकाले प्लाष्टिक जन्य फोहोर किनिदिने भएको छ ।
नगरपालिकाले प्रतिकिलो १५ रुपैयाँका दरले प्लाष्टिकजन्य फोहोर खरिद गर्ने भएको हो । माघ १ गतेबाट प्लाष्टिक जन्य फोहोर किन्ने ब्यवस्था गरिएको नगर प्रमुख बस्नेतले बताए ।
तर, अहिलेसम्म प्लाष्टिकजन्य फोहोर बेच्नका लागि कोही पनि आएका छैनन् । फोहोर किन्नका लागि नगरपालिकाले तुरुन्तै ठाउँ तोक्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सहदेव रायमाझीले बताए ।
इलाम नगरपालिकाले ०६७ सालदेखि पोलिथिनको झोलामा भने प्रतिवन्ध लगाएको छ । पोलिथिन झोला भने नगरपालिकाले किन्दैन । खानेपानीको बोतल, खाद्यबस्तुको प्याकेजीङमा भएको प्लाष्टिक लगायतका प्याष्टिकजन्य फोहोर खरिद गर्ने भएको हो ।
नगरपालिकाले खरिद गरेको फोहोर अहिले स्टोर गरिने छ । त्यसलाई प्रशोधन गरेर पेट्रोलियम पदार्थ र अलकत्र बनाउने नगरपालिकाको योजना छ । ‘पुर्वमानै प्लाष्टिक प्रशोधन गर्ने प्लान्ट राख्ने प्रदेश सरकार सहित अन्य नगरपालिकाले तयारी गरिरहेका छन्, प्लान्ट स्थापना भएपछि प्रशोधन गर्छौ ।’ सिसाजन्य फोहोरमा भने प्रतिवन्ध लगाउने नगरपालिकाको तयारी छ । अहिले महिनाको दुई दिनमात्रै सिसाजन्य फोहोर संकलन गर्ने गरेको छ ।
इलाम नगरपालिकामा दैनिक सात टन फोहोर उत्पादन हुने गरेको एक अध्ययनले देखाएको छ । त्यो मध्ये करिव १० प्रतिशत प्लाष्टिजन्य फोहोर हुन्छ ।