बाँके : पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी दम्पतीले जेठी बुहारीलाई छोरीका रूपमा विवाह गरेर पठाएकी छन् । संघीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति समेत हरेका सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएकी हुन् ।
सुवेदी पुत्र अच्युतराजको २०७२ वैशाख १२ गतेको महाभूकम्पमा परी निधन भएपछि एकल भएकी जेठी बुहारी मालतीलाई छोरीका रूपमा सुधीर गौतमसँग विवाह गरेर पठाएका हुन् । बुहारीले नै मना पराएको केटा नेपालगन्जका गौतमसँग मंसीर लाग्न साथै सुवेदीले परिवारले विवाह गरिदिएका हुन् । शनिबार घरपरिवारका सदस्यले आफन्त तथा केही नेताहरूको उपस्थितिमा मालतीलाई विवाह गरिदिए । पूर्णाका श्रीमान् प्रकाश सुवेदी पनि नेकपाका नेता हुन् ।
अच्युतको मृत्युपछि एकल भएकी थिइन् मालती। उनका दुई छोरा छन् । सुवेदी परिवारले मालतीको खुशी पनि पूरा हुने भन्दै आफ्नै घरबाट विवाहको विधि पुर्याएर अन्माएका थिए । दुई नातिको पालनपोषणप्रति चिन्ता गरेका सुवेदी परिवारले मालतीलाई खुसीका साथ बिदाइ गरेका छन् ।
बुहारीले विवाह गर्ने इच्छा गरेको र घरबाटै अन्माइदिन प्रस्ताव राखेपछि बुहारीलार्इ छाेरीसरह अन्माइएर दिँदा आफूलार्इ पनि खुसी लागेको ससुरा प्रकाश सुवेदीले बताए । उनले भने ‘समाजमा रहेका रुढीवादी परम्पराहरू तोडेर अघि बढ्नु पर्छ । हामीले पनि एकल रहेकी बुहारीलाई बाबु बनेर अन्माएर पठायौ, यो उनको खुसीका लागि हो ।’
२०७२ वैशाख १२ गते गएको महाभूकम्पमा मालतीको श्रीमान् अच्युतराज सुवेदीको मृत्यु भएको थियो । काठमाडौंमा बसेको बसेको होटेल भत्किदा च्यापिएर गम्भीर घाइते भएका सुवेदीको भारतीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।