काठमाडाैँ : आज विजया दशमीको तेश्रो दिन । मान्यजनबाट आशिर्वाद लिने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने गर्दछ ।
देशका केही भागमा भने टीकाको दिन मात्र टीका लगाउने चलन पनि छ । असत्यमाथि सत्य र आसुरी शाक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसैं मनाइँदै आएको छ ।
घटस्थापनादेखि नौ दिनसम्म घरमा दुर्गाभवानीको पुजाआराधाना गरी राखिएको जमरा सहितको टीका वियजादशमीदेखि लगाउने परम्परागत चलन हो ।
आज बिहानैदेखि टीका लगाउन आफन्तकहाँ जानेहरुका कारण राजधानीमा गाडीको चहपहल बढ्दै गएको छ ।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारण र शुभेच्छुकलाई टीका लगाइदिन भ्याइनभ्यार्इ छ । शनिबार बालुवाटारमा एचआइभी संक्रमित बालबालिकासँगै अन्य सर्वसाधारण टीका लगाउन पुगेका थिए । पार्टीका कार्यकर्ताहरु तथा सर्वसाधारण टीका ग्रहण गर्न प्रधानमन्त्री निवास बालुवाटार धाउने क्रम जारी नै छ ।
शिक्षा सदन किर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सामुहिक टिका लगाइदिएको सचिवालयले जनाएको छ । सो अवसरमा बालबालिकाले गायन लगायत विभिन्न विधाका कला प्रस्तुत गरेका थिए ।
सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले कोजाग्रत पूर्णिमासम्म नै सर्वसाधारण, शुभेच्छुक र कार्यकर्तालाई टीका लगाइदिने कार्यक्रम छ ।