रोङ : पन्ध्र बर्ष पछि रोङ ६ जिर्मलेको रम्भ्याङ्गमा साप्ताहिक हाट पुर्न स्थापना भएको छ ।
२०६० साल भदौ देखी हरेक मंगलबार लाग्ने गरेको उक्त साप्ताहिक बजार तत्कालिन समयको बिषम राजनैतिक परिस्थिति र भौतिक पूवाधार अभावको कारण करिव डेढ बर्ष जति संचालन भएपछि बन्द भएको थियो । तर स्थानिय बासीहरुको सक्रियतापछि हरेक सोमवार लाग्नेगरि सो साप्ताहिक बजारको शुरुवात भएको छ ।
अहिले आएर ब्यपारीहरुसगको परामर्ष र स्थानियवासीहरुको आवश्यक्ताको आधारमा हरेक सोमबार लाग्ने गरि आज असोज १५ गतेबाट हाटको शुरुवात गरिएकोे बजार ब्यवस्थापन समितिका अध्यक्ष याम चाम्लिङ्गले बताए । प्रतिकुल मौसम भएपनि हिजो पैतालिस वटा जति पसलहरु संचालनमा आएको थियो । आफु नया ठाउमा आएको भएपनि संतोषजक ब्यपार भएको किराना पसले हेम आछामीले बताए । नयाँ ठाउमा आएको खासै थाहा थिएन तरपनि राम्रो ब्यपार भयो कपडा पसले मुकेस गुरुङ्गले भने । यस्तै अर्का जुत्ता चप्पलको ब्यपार गर्न आएका सिबु आचार्यले धेरै संभावना रहेछ कतिपय स्थानमा त ब्यपार हुदैन थियो तर आफुले आठ दश हजारको बेचेकोले निक्कै राम्रो भएको बताइन् ।
हर्कटे जिर्मले सडकले छोएको उक्त बजार हर्कटे बजारबाट सात किलोमिटरमा रहेको छ । बजार संचालन गर्न स्थानियबासीहरु गोपिकृष्ण भण्डारी र अनन्त गुरुङ्गले तीन रोपनि जग्गा समेत निशुल्क दिएको छन् । अहिलेलाइ सामान्य ब्यवस्थापन गरिएको ्धेरै काम गर्न बाकी रहेकाे बजार ब्यवस्थापन समितिका सचिव लोकनाथ भण्डारीले बताए ।
बजार संचालन हुदा साबिक जिर्मले ,इरौटार ,कन्याम र समाल्बुङ्गका नागरिकहरुले प्रतक्ष्य फाइदा पुग्ने छ । यस अघिपनि रोङ ५ को इरौटारमा लागेर बन्द भएको मुचुङ्गे बजार पुर्नस्थापित भएको छ भने रोङ २ को मंगलटारमा हरेक शनिबार र रोङ २ कै बरफल्याङ्गमा हरेक बिहिबार साप्ताहिक बजार संचालनमा आएको छ । र्थपु बजार संचालनमा आउदा रोङ गाउपालिका भित्र लाग्ने साप्ताहिक हाटको संख्या चार पुगेको छ ।