फेरि प्रदेश राजधानीको आन्दोलन, नाराबाजी गर्दै मेयर नै उत्रिए सडकमा

कैलाली : प्रदेश नम्बर–७ को नाम र स्थायी राजधानीका विषयमा फेरि आन्दोलन सुरु भएको छ ।

प्रदेश–७ को स्थायी राजधानी र नामांकनका लागि गठित विशेष सुझाव समितिले मंगलबार प्रदेशसभामा आफ्नो प्रतिवेदन पेस गरेको थियो ।

त्यससँगै बुधबार धनगढी उपमहानगरपालिकाका मेयर नृप वडसहित जनप्रतिनिधिहरुसमेत आन्दोलनमा उत्रिएका हुन् ।

मेयर वडले नै आन्दोलन उग्र बनाउन उक्साइरहेको स्थानीयको आरोप छ । आन्दोलनमा उत्रिएकाहरुले धनगढीस्थित प्रदेशसभा भवनबाहिर चर्को नाराबाजी गरिरहेका छन् ।

भित्र प्रदेशसभाको बैठक बसिरहेको छ ।

धनगढी उपमहानगरका विभिन्न वडाका वडाध्यक्ष, सदस्यसहित नेपाली कांग्रेसनिकट नेता–कार्यकर्ताहरु स्थायी राजधानी धनगढीमै हुनुपर्ने माग गर्दै टायर बालेर प्रदर्शनमा उत्रिएका हुन् । स्थानीयसमेत विरोधमा उत्रिएका छन् ।

मेयर वडले प्रदेशसभा सदस्यहरुले गोदावरी राजधानी बनाउन खोजेको भन्दै प्रदेशसभा सदस्यहरुलाई गालीसमेत गरेको आरोप लगाइएको छ ।

प्रदेशको नाम र राजधानी तोक्न गत साउन १४ गते प्रदेशसभा सदस्य तारा लामा तामाङको संयोजकत्वमा गठित संसदीय समितिले मंगलबार प्रदेशसभामा प्रतिवेदन प्रस्तुत् गरेको थियो ।

सो समितिले प्रदेश–७ को नाम ‘सुदूरपश्चिम’ राख्न र राजधानी कैलालीकै गोदावरी नगरपालिका क्षेत्रलाई तोक्ने सिफारिससहितको प्रतिवेदन संसदमा पेस गरेको छ ।

समितिले राजधानीका लागि गोदावरी नगरपालिकाको वडा नम्बर–४ स्थित तेघरी ब्यारेकनजिकको वनलाई निर्धारण गरेको छ ।

सो समितिले राजधानीका लागि सिफारिस गरेको गोदावरी नगरपालिका हालको प्रदेश–७ को अस्थायी राजधानी धनगढीबाट करिब २० किलोमिटर उत्तरमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार