इलाममा चार दिनदेखि ठप्प यातायात सुचारु

जनजीवन सामान्य बन्दै

इलामको जिरो किलोमिटरमा प्रहरी र सवारी चालकबीच भएको घम्साघम्सी । तस्वीर : नयाँ बुलन्द

इलाम : इलाममा विगत चार दिनदेखि ठप्प यातयात सेवा सूचारु भएको छ । गत सोमबारदेखि ठप्प यातयात सेवा बिहिबारदेखि सूचारु भएको हो ।

यातायात व्यवसायी, सवारी चालक, कानुनव्यवसायी र प्रमुख जिल्ला अधिकारीबीच भएको संयुक्त छलफलपछि बिहीबार दिउँसोबाट इलाममा सवारीसाधन खुला गर्नेमा सहमत भएको हो । छलफलमा सवारी चालकलाई असर नपर्नेगरि सशोंधन गरिएको र यसले पहिले र अहिलेमा खासै असर नदेखिने भएकाले इलाममा सवारीसाधन बन्द नगर्नेमा चालकहरु सहमत भएका हुन् ।

कानुनको सशोंधनले व्यवसायी तथा मजदुरहरु अन्यायमा परेको भन्दै यातायात व्यवसायी र सवारी चालकको बन्दले जिल्लबासीमा परेको असरलाई मध्यनजर गरि इलाममा अनिश्चितकालीन बन्द सुचारु गर्नेमा सहमत गरेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

यातायात सुचारु भएसँगै जिल्लाबासीको जनजीवन सामान्य बन्न थालको छ । ग्रामीण क्षेत्रबाट सदरमुकाम आउने र सदरमुकामबाट ग्रामीण क्षेत्रमा जाने यात्रुलाई सहजता भएको छ । मेचीमार्गमा सवारी साधनको चाप बढ्थ थालेको छ । बजार क्षेत्रमा समेत मानिसहरुको चहलपहल बढेको छ ।

मुलुकी अपराध संहिता तथा यातायात व्यवस्था ऐनमा भएको सजाय पुनरावलोकनको माग राख्दै सवारी चालकहरु हड्तालमा उत्रिएपछि इलामको यातायात सेवा ठप्प भएको थियो । यसअघि यातयात सेवा ठप्प हुदाँ काम विशेषले यात्रा गर्ने र बिरामीहरुले सास्ती व्यहोर्नु परेको थियो ।

वर्तमान सवारी तथा यातयात व्यवस्था ऐन २०४९ को वर्तमान संशोधित अवस्थामा केही व्यवस्थाहरु चालक र परिचालकहरुको हकहित विरुद्ध भएको भन्दै सवारी चालकहरु आम हड्तालमा उत्रिएका थिए ।

यता बिहीबार दिउँसो इलामकै जिरो किलोमिटरमा प्रहरी र यातायात मजदुरबीच बन्दकै विषयलाई लिएर सामान्य घम्साघम्सी समेत भएको थियो । सवारी बन्द गरेर बसेका मजदुरलाई प्रहरीले गाली गरेकोपछि केहीबेर घम्साघम्सी भएको व्यवसायीले बताएका छन् ।

केही नेपाल कानुन संशोधन, एकीकरण, समायोजन र खारेज गर्न बनेको ऐन-२०७४ ले सवारी तथा यातायात व्यवस्था ऐन-२०४९ को दफा १६१ र १६२ मा गरेको संशोधनप्रति विरोध जनाउँदै मजदुरले देशभर यातायात हड्ताल गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार