उपचार गर्ने पैसा नभएर घरमै छट्पटिदैं ११ वर्षीय बालक

  राम योङहाङ/गोबिन्द पौडेल
0 Shares

योगेश प्रधानलाई बोकरे विद्यालय लैजाँदैं दाजु निरोज प्रधान । फाइल तस्विर : गोविन्द पौडेल

रोङ (इलाम) : देशका प्रमुख ओहदाका मानिसहरु सामान्य विरामी हुँदा समेत राज्यको करोडौं रकमबाट विदेशमा उपचार गराउँछन् । राज्यको ढुकुटी रित्याउन उपारका नाममा होडबाजी नै चल्छ । जनताले तिरेको अधिकांश कर नेताको उपचारमा नै प्रयोग हुने भन्दै बेलाबखत आलोचना समेत हुने गरेको छ ।

तर त्यही देशका अधिकांश नागरिक, जो गरिबीकै कारण उपचार गर्न पाएका छैनन् । उपचार गर्ने पैसा नभएकै कारण दीर्घ रोग लिएर आजीवन कष्टकर जीवन बिताउन बाध्य छन् । गरिबका लागि उपचार गर्न विदेश जाने कुरा त परै जाओस्, स्थानीय अस्पतालमा लगेर उपचार गर्ने अवस्था समेत कतिपयमा छैन । आर्थिक अभावकै कारण घरैमा छट्पटिदैं कष्टकर जीवन व्यतित गर्नुको विकल्प छैन । उनीहरुका लागि ‘आफ्नो जीन्दगी भगवान् भरोसा’ मा सुम्पिनुको विकल्प छैन । संविधानले स्वास्थ्यको अधिकारलाई मौलिक हकको रुपमा व्यवस्था गरेपनि अधिकांश नागरिको वञ्चित छन् ।

यसको गतिलो उदहारण बनेको छ, इलामको रोङ गाउँपालिका वडा नम्बर ६ रम्भ्याङका ११ वर्षीय अपाङ्गता भएका बालक योगेश प्रधानको । आर्थिक अभावले ३ महिनादेखी ओछ्यान परेको प्रधान जीवनसँग संघर्ष गरिरहेका छन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनले उपचार पाएका छैनन् । उनी यतिबेला उपचारको अभावमा छट्पटिरहेका छन् ।

सुरुमा सामान्य समस्या आएर हिँडडुल गर्न असहज भएपछि परिवारले उनलाई उपचारको लागि जसोतसो विराटनगरस्थित नोवेल मेडिकल अस्पताल पुर्याएका थिए । अस्पतालले उपचारका लागि पाँच लाख रुपैयाँ लाग्ने भएपछि सामान्य जाँच मात्र गरी उपचार नै नगरी घर फर्काइएको छ ।

अस्पतालले योगेशको घिच्रोको नसा चेपिएको र दुईवटा हाड राख्नुपर्ने सल्लाह पाएपछि आर्थिक समस्याकै कारण उपचार गराउन नसकेको आमा निर्मला प्रधानले बताइन् । गाउँपालिकाले अपाङ्ता भएका परिवार सहितको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको कारण अस्पतालमा भएको करिब २८ हजार खर्च आफूले तिर्नु नपरेको भएपनि अब कसरी उपचार गर्ने भन्ने चिन्ताले सताएको निर्मलाले बताईन् । ‘छोराको उपचार गर्न अस्पतालले ५ लाख रुपैयाँ लाग्न भन्यो । हामीसँग त्यत्रो पैसा नभएकाले त्यतिकै फर्कायौं । अब छोराको उपचार कसरी गर्ने भन्ने चिन्ताले पिरोलेको छ’ निर्मलाले भनिन् ।

पढाईमा तीक्ष्ण क्षमता भएका योगेश स्थानीय सरस्वती माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए । खुट्टा र मेरुदण्डमा अपप्ठ्यारो महसुस गरेका उनी गत जेठसम्म विद्यालय जाँदै थिए । हिड्न नै नसक्ने भएपछि उनका दाजु निरोजले बोकेर विद्यालय लाने र लैजाने गरेका थिए । तर विरामले च्याप्न थालेपछि ओछ्यानमा थलिए ।

योगेशको उपचारको चिन्ताले उनका दाजु र बाबु पैसा कमाउन भन्दै घर छाडेका छन् । छोराको उपचारका लागि पैसा कमाउन भन्दै योगेशका बाबु होमबहादुर प्रधान काम खोज्दै धादिङ पुगेका छन् । योगेशका दाजु निरोज समेत भाईको उपचारका लागि पैसा कमाउन पढाई छाडेर नै भारतको उडिसा पुगेका छन् । कक्षा १० मा अध्ययनरत निरोज गत वर्ष विद्यालय प्रथम भएका थिए । भाई योगेस विद्यालय द्वितीय भएको विद्यालयका शिक्षक रुद्र प्रधानले जानकारी दिए ।

अहिले योगेशलाई उठाउन, बसाउन र दिशापिसाब गराउन समेत अरुको सहायता चाहिन्छ । त्यसका लागि आमा निर्मलाले चौविसै घण्टा समय दिनुपरेको बताईन् । ‘साथीहरु विद्यालय गएको देखेर म पनि जान्छु भन्छ’ आमा निर्मलले भनिन्, ‘उठ्न समेत नसेपछि छटपटाउँदै रुने गर्दछ ।’

करुणा फाउण्डेशनले निरीक्षण गर्यो, सहयोग गरेन

योगेशलाई दाजु निरोजले बोकर विद्यालय लैंजादैं गरेको तस्वीर सामाजिक संजालमा सार्वजनिक भएपछि अपाङताको क्षेत्रमा काम गदै आएको करुणा फाउन्डेसन नेपालले विद्यालयमानै पुगेर स्वास्थ्यस्थितीको जानकारी लियो । स्वास्थ्यकर्मीको टिम र विदेशी प्रतिनिधि समेत घरमा नै पुगेर योगेसको निरिक्षण गर्यो । तर सहयोग कुनै सहयोग भने नगरेको परिवारजनको गुनासो छ ।

यता करुणा फाउण्डे्शन इलामका कार्यक्रम व्यवस्थापक अजित योञ्जनले योगशेको बारेमा छलफलम भईरहेको जानकारी दिए । ‘हामी सहयोग चाँही गर्छौ । तर हेरीहेरी सहयोग हुन्छ । कति सहयोग गर्ने भन्ने निर्णय भएको छैन । छलफलमै रहेको छ’ योञ्जनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार