बालक्लबका लागि क्षमता विकास तालिम सुरु

फाकफोक : इलामको फाकफोकथुम गाउँपालिका वडा नं. १ र २ मा रहेका बाल सञ्जालको नेतृत्व विकास गर्ने उद्देश्यले आजदेखि बाल सञ्जालका प्रतिनिधिहरूका लागि कोल्बोटेमा दुईदिने क्षमता विकास तालिम सुरू भएको छ ।

फाकफोकथुम गाउँपालिका र करूणा फाउण्डेशन नेपाल इलामको साझेदारीमा सञ्चालित हेरचाहका लागि उत्प्रेरणा परियोजनाअन्तर्गत बाल सञ्जालका प्रतिनिधिहरुलाई दुई दिने तालिम सञ्चालन गरिएको हो ।

तालिममा फाकफोकथुम गापा १ र २ का बाल सञ्जालका १६ जना बालबालिकाको सहभागिता रहेको छ ।

तालिमलाई मानव अधिकार सञ्जाल तथा शान्ति कार्यसमूह प्याग मेचीका कार्यक्रम निर्देशक प्रकाश अधिकारीले सहजीकरण गरिरहेका छन् ।

अभियान बाल क्लबका अध्यक्ष अर्जुन परियारको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा करुणा फाउण्डेशन नेपाल इलामका फाकफोकथुम गाउँपालिकाका समुदाय संयोजक गोविन्दप्रसाद लामिछानेले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

२ नं. वडा कार्यालयका वडासचिव लक्ष्मी शर्माले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न बालबालिकालाई आग्रह गरे । बालसञ्जालका लागि वडा कार्यालयले समेत सहयोग गर्ने उहाँले प्रतिबद्धता समेत जनाए । सिबिआर सहजकर्ता चन्द्रप्रकाश बोहोराले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार