प्रतिनिधिसभाका १० वटै विषयगत समितिले पाए नेतृत्व

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समितिले पूर्णता पाएका छन् ।

संसद सचिवालय सिंहदरबारमा आज बसेको १० वटै समितिको छुट्टा–छुट्टै बैठकले हिजो निर्विरोध मनोनयनमा परेका उमेदवारलाई सभापतिमा निर्वाचित भएको घोषणा गरेको हो ।

संसद सचिवालयले हिजो बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकेको उमेदवारी मनोनयनको अवधिमा १० वटै समितिको सभापतिमा एकल उमेदवारी परेको थियो । जसअनुसार अर्थ समितिको सभापतिमा कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय समितिको सभापतिमा पवित्रा निरौला र उद्योग तथा वाणिज्य समितिको सभापतिमा बिमल श्रीवास्तव निर्वाचित भएका छन् ।

यस्तै, कानुन न्याय तथा मानवअधिकार समितिको सभापतिमा कृष्णभक्त पोखरेल, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा पूर्णकमारी सुवेदी, महिला तथा सामाजिक समितिको सभापतिमा निरुदेवी पाल र राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा शशी श्रेष्ठ निर्वाचित भएका छन् ।

विकास तथा प्रविधि समितिको सभापतिमा कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा जयपुरी घर्ती र सार्वजनिक लेखा समितिको सभापतिमा भरतकुमार शाह निर्वाचित भएका छन् ।

१० वटा विषयगत समिति मध्ये ९ वटा सत्तापक्षका सांसद र एउटा समितिको सभापति प्रतिपक्ष दल कांग्रेसले पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार