किताब बोकेर विद्यालय पोसाकमै आएकामाथि ताकीताकी गोली प्रहार, कम्तीमा १९ जनाको हत्या

सुशासन माग्दा जेन–जीमाथि सरकारको बर्बरता, रणमैदान बन्यो प्रदर्शनस्थल

काठमाडौँ : ‘भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर’ भन्दै सडकमा उत्रिएका जेन–जी पुस्तामाथि सरकारले बर्बरता देखाएको छ । लोकतान्त्रिक व्यवस्था भएको मुलुकमा शान्तिपूर्ण रूपमा प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि प्रहरीले ताकीताकी गोली प्रहार गरेर कम्तीमा २० जनाको हत्या गरेको छ भने सयौँ युवा घाइते छन् ।

भ्रष्टाचार, बेथिति, सरकारको निरंकुशता तथा नेताका सन्तानको भड्किलो र विलासी जीवनशैलीविरुद्ध जेन–जी पुस्ताले विद्रोह गरेको हो । नेपालमा पहिलो पटक जेन–जी पुस्ता राज्यको दमनकारी नीति र भ्रष्टाचारविरुद्ध सकडमा उत्रिएको हो । बिहान माइतीघरमा भेला भएका युवाहरू नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि पुगेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रहरीको सुरक्षा घेरा (ब्यारिकेड) तोड्दै युवाहरू संसद् भवन परिसर पुगेका थिए । त्यहाँ पुगेपछि प्रहरीले एक्कासि पानीको फोहरा र अश्रुग्यास हानेपछि उनीहरू पनि उत्तेजित भएका थिए । उनीहरूले संसद् भवन प्रवेश गर्ने २ नम्बर गेट भत्काएर भित्र प्रवेश गरेका थिए भने गेटमा आगोसमेत लगाए । त्यसपछि प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको हो ।

युवा पुस्तामाथि राज्यले गरेको दमन २०६२÷६३ मा व्यवस्था नै फाल्ने गरी भएको जनआन्दोलनमा क्रूर र निरंकुश भनिएको राजतन्त्रले गरेभन्दा भयानक भएको राजनीतिक विज्ञहरू बताउँछन् । त्यो बेला १९ दिन भएको आन्दोलनका क्रममा २५ जनाको मृत्यु भएको थियो । तर, सोमबार करिब ४ घन्टाको आन्दोलनका क्रममा कम्तीमा २० जनाको ज्यान गएको हो । विद्यालय पोसाकमै किताबको झोला बोकेर सरकारसँग आफ्नो भविष्यको सुनिश्चितता मागिरहेका जेन–जी पुस्तालाई सरकारले बरु गोली दागेर मृत्यु दियो, तर सुशासन दिन तयार देखिएन । कम्तीमा २० जनाको मृत्यु, दर्जनौँ गम्भीर घाइते र ३०० भन्दा बढी घाइते हुँदा पनि सरकार मौन छ । सत्तामा रहनेहरू निरंकुशतातर्फ उन्मुख भएको प्रदर्शनमा सहभागी युवाहरू बताउँछन् । ‘राजतन्त्र फालेर गणतन्त्र ल्याउनुको उपादेयता यही थियो ?’ जेन–जी पुस्ताको प्रश्न छ ।

जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर गरिएको विरोध प्रदर्शनमा सुरक्षा संयन्त्रमाथि पनि प्रश्न तेर्सिएको छ । भ्रष्टाचारमा लिप्त नेताहरूको ‘थ्रेट’मा पूर्वसूचना संकलन गरेर सुरक्षा दिन सक्षम हुने सुरक्षा संयन्त्र किन मौन बस्यो र युवामाथि दमन गर्न किन हिच्किचाएन ? भन्ने गम्भीर प्रश्न उठेको छ । प्रदर्शनमा घुसपैठ भएको भन्दै टाउको नै ताकेर बुलेट बर्साउने प्रहरीमाथि मानवअधिकार हननमा अनुसन्धान हुनुपर्ने अधिकारवादीहरूको माग छ । विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई गोली हान्ने र अस्पलातभित्रै पसेर अश्रुग्यास बर्साउँदै युवामाथि बुट बजार्ने सुरक्षा संयन्त्रले युद्धको बेला अपनाउनुपर्ने सामान्य नियमसमेत मिच्दै शासकको बर्बरतालाई साथ दिएको मानवअधिकार आयोगकी सदस्य लिली थापा बताउँछिन् ।

‘अत्यधिक बल प्रयोग गरेर कहिले हवाई फायर, कहिले रबरको गोली, कहिले लाठी, कहिले फोहरा गरेर प्रदर्शनकारीलाई आक्रोशित बनाउने काम प्रहरी र सरकारबाट भएको छ । सरकारले शान्त रहन, संयमित हुन आह्वान गर्नुपर्ने ठाउँमा उत्तेजित बनायो । रबरका गोली प्रहार भएको भनिए पनि त्यो मात्र होइन,’ थापाले भनिन्, ‘निर्देशन नभई सडकमा हुने प्रहरीले गोली चलाएन होला । चेन अफ कमान्डमा बस्ने प्रहरीले त्यसै गोली चलाउँदैन ।’

प्रधानमन्त्रीको कुतर्क : राज्यको सम्पत्ति जोगाउन खोज्दा अप्रिय घटना भयो

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको घटनाले आफूलाई मर्माहत बनाएको बताए पनि जेन जीको प्रदर्शनमा स्वार्थ केन्द्रबाट घुसपैठ भएको बताउँदै दमन र निरंकुशताबाट फेरि एक पटक टकटकिने प्रयास गरेका छन् । जेन-जी पुस्ताले राखेको मागप्रति सरकार नकारात्मक नभएको र उनीहरूको माग सुनिरहेको बताउँदै  । ओलीले तोडफोड र आगजनीबाट राज्यको सम्पत्ति जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भएको बेतुकको तर्क प्रस्तुत गरेका छन् ।

विज्ञप्तिमार्फत् ओलीले सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा नभएको र त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्ने बताउँदै यसका लागि प्रदर्शन गरिरहनुपर्ने स्थिति रहन नदिइने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । यसैबीच, सरकारले जेन-जीले गरेको प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल छानबिन समिति गठन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिने निर्णय गरेको हो । बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए । तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप नगरेको मन्त्री गुरुङले बताए। ‘यही कुरालाई बहाना बनाएर आन्दोलन भएका कारणले सामाजिक सञ्जालहरू खुलाउने निर्णय गरिएको हो,’ उनले बताए।

अन्धाधुन्ध गोली लागेर ४ पत्रकार घाइते

जेन–जी आन्दोलनको रिपोर्टिङमा खटिएका पत्रकारहरूमाथि पनि प्रहरीले गोली प्रहार गरेको छ । प्रहरीको गोली लागेर ३ जना पत्रकार घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रेसका उमेश कार्की, कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ र नयाँ पत्रिकाका दीपेन्द्र ढुंगाना र शम्भु दंगाल छन् । पत्रकारमाथि भएको गोली प्रहारप्रति पत्रकार महासंघले आपत्ति जनाएको छ । आन्दोलनको क्रममा रिपोर्टिङमा गएका पत्रकारहरू प्रहरीबाटै असुरक्षित हुनुलाई महासंघले प्रेसमाथिको आक्रमण भन्दै भत्सर्ना गरेको छ ।

संयमपूर्वक समाधान खोज्न राष्ट्रपतिको अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान परिस्थितिको बारेमा गम्भीर चिन्ता व्यक्त गर्दै मुलुकभर सोमबार भएको जेन–जी पुस्ताको प्रदर्शनका क्रममा ठुलो संख्यामा नागरिकको हताहत भएको घटनाले आफू मर्माहत भएको बताएका छन् । पौडेलले घटनामा परी निधन भएका युवाको परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह गरेका छन् । सोमबारको विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न सबै पक्षलाई राष्ट्रपति पौडेलले अपिल गरेका छन् ।

०००

नेपालमा भएको प्रदर्शनका क्रममा कैयौँको मृत्यु र घाइते भएको खबरप्रति गहिरो दुःख व्यक्त गर्दछु । प्रभावित परिवारहरूप्रति हार्दिक समवेदना । नागरिकहरूले सुरक्षित र शान्तिपूर्ण रूपमा आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्न सकून् भन्ने कुरा सुनिश्चित गर्दै अधिकतम संयम र सावधानी अपनाउन सबै पक्षलाई आग्रह गर्दछु । – हाना सिंगर हम्दी, आवासीय संयोजक, संयुक्त राष्ट्रसंघ, नेपाल

नेपालको संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार कानुनबमोजिम कुनै पनि व्यक्ति वा समूहलाई संयमित रूपमा आफ्ना विमति राख्ने अधिकार छ । लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजहरूलाई समयमै पहिचान गरी यथोचित सम्बोधन गर्नुपर्छ । यस प्रकारका प्रदर्शनहरू तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद् छ । यस प्रकारका प्रदर्शनपूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरुको यथोचित रूपमा समयमै सम्बोधन गर्न, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क उपचार गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारबाही गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । – मानवअधिकार आयोग, नेपाल

सुरक्षा निकाय हाइअलर्टमा

प्रदर्शनले अझै उग्र रूप लिनसक्ने आकलनसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले सबै कर्मचारीलाई तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् । सशस्त्र प्रहरी हेडक्वार्टरले जेन–जी समूहको विरोध प्रदर्शनका क्रममा सुरक्षार्थ खटिनुपर्ने भएकाले देशभरका मातहत निकायमा आन्तरिक सर्कुलर गर्दै निर्देशन दिएको हो । त्यस्तै, नेपाल प्रहरी हेडक्वार्टरले पनि देशभरका प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गर्दै स्ट्यान्डबाई रहन निर्देशन दिएको छ । प्रदर्शनले निरन्तरता पाउने आकलनसहित दुवै प्रहरी संगठन सतर्क अवस्थामा छन् ।

रास्वपाले माग्यो सरकारको बर्खास्ती र अर्ली इलेक्सन

प्रतिपक्षी दल रास्वपाले सरकारको बर्खास्ती र मध्यावधि निर्वाचनको माग गरेको छ । वर्तमान सरकारको औचित्य सकिएको निष्कर्ष निकाल्दै रास्वपाले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने र राष्ट्रिय मुद्दामा असफल हुँदै आएको कांग्रेस–एमालेकै बहुमत रहेको संसद्ले नै वैधता गुमाएकाले ताजा जनादेशको विकल्प नरहेको उल्लेख गरेको छ । ‘देशमा व्याप्त भ्रष्टाचार, कानुनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्ध जेन–जीद्वारा आयोजित प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको रास्वपा भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘निहत्था युवाहरूले गरेको शान्तिपूर्ण आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दै चेतावनी दिन्छौँ । आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहनेछैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ ।’

देशभरका निजी विद्यालय बन्द, रोकियो त्रिविको परीक्षा

काठमाडौँ उपत्यकाका निजी विद्यालयहरू मंगलबार पूर्ण रूपमा बन्द हुने भएका छन् । सोमबार जेन–जीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय सञ्चालकहरूले …. दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । उता, त्रिभुवन विश्वविद्यालयले ४ बर्से स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित गरेको छ । विश्वविद्यालयले सोमबार सूचना जारी गर्दै देशैभरका परीक्षा केन्द्रमा २४, २५ र २६ भदौमा सञ्चालन हुने गरी तोकिएका स्नातक दोस्रो वर्षको परीक्षा स्थगित गरिएको जनाएको हो । त्यस्तै, त्रिभुवन विश्वविद्यालयको सेवा आयोगले पनि २४ र २५ गतेका लागि तोकेको सबै पदको लिखित परीक्षा रद्द गरेको छ ।

यो सरकारको औचित्य सकियो

गगन थापा : जेन-जीले गरेको शान्तिपूर्ण आन्दोलनमा जुन अवाञ्छि र हिंसात्मक गतिविधि भयो, त्यो दुःखद् र अस्वाभाविक छ । आन्दोलन नियन्त्रण गर्ने नाममा सरकारले गरेको चरम दमन निन्दनीय र अक्षम्य छ । कुनै पनि कोणबाट सरकारको यो शैली जायज हुन सक्दैन । यो सबै परिस्थितिको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ। जनतालाई सुशासनको प्रत्याभूति दिन नसकेका कारण यो गठबन्धन सरकारको औचित्य सकिएको छ ।

डा. शेखर कोइराला : आज सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न सक्दैन । जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरंकुश क्रूर सरकारले हातमा किताबकापी बोकेर देशभित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगवाट गोली प्रहार गरेको छ। त्यसको जति निन्दा र भर्त्सना गरे पनि पुग्दैन । आजबाट वर्तमान सरकारको औचित्य पूरै समाप्त भएको छ। तपाईं हामी मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोजौं ।

इतिहासकै क्रुर नरसंहार : माओवादी केन्द्र

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सोमबारको घटनालाई सरकारले क्रुरताको संज्ञा दिएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध जेन–जी प्रदर्शनमा सरकारले इतिहासकै क्रूर नरसंहार गरेको बताउँदै माओवादीले जेन–जी पुस्ताको जायज मागप्रति आफूहरूको ऐक्यबद्धता रहेको र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने सोमबार बसेको बैठकले निर्णय गरेको छ ।

रवि लामिछानेले भने– जेनजीसहितको नागरिक सरकार बनाऊ, रास्वपा सांसदहरू राजीनामा दिन तयार होऔँ

यो क्रान्ति केवल यी आततायीहरूलाई दण्डित गर्न मात्र होइन, देश बदल्ने तहमा पुग्नुपर्छ । नत्र जेन–जीको बलिदान खेर जानेछ । यिनले जोगाएका आफ्ना पार्टीका अपराधीहरू र यिनले बन्द गरेका फाइलहरूको धुलो टक्टक्याउनु होला । गृह मन्त्रालयको एउटा दराजमा मैले अनुसन्धान गर्ने भनी संसद्मा प्रण गरेको २५ वटा काण्डको लिस्ट छ । खोज्नुहोला, खोस्नुहोला । प्रिय रास्वपाका सांसदहरू हाम्रा मागहरू पूरा नभए संसद्बाट राजीनामा दिनुपर्ने हुन सक्छ । तयार रहनुहोला ।

नरसंहार मच्चाएर लेखकले छाडे पद

१९ जना युवाको हत्या र सयौं घाइते भएपछि गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा भन्दै पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचार, सामाजिक सञ्जाल प्रतिबन्धलगायतको विरोधमा भएको जेन – जी प्रदर्शनलाई प्रहरीले नै उत्तेजित बनाएपछि ठुलो मानवीय क्षति भएको भन्दै चौतर्फी आलोचनापछि नैतिक जिम्मेवारी लँदै लेखकले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा राजीनामा बुझाएका हुन् । जेन-जीमाथि निर्मम प्रहार गरेर राजीनामा दिएर मात्रै नहुने भन्दै उनलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग चौतर्फी रूपमा उठिरहेको छ ।

सरकारले जेन–जीले गरेको प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल छानबिन समिति गठन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिने निर्णय गरेको हाे ।

१९ जनाको मृत्यु

सिभिल अस्पताल– ३

राष्ट्रिय ट्रमा सेन्टर– ८

एभरेस्ट अस्पताल– ३

काठमाडौँ मेडिकल कलेज– २

त्रिवि शिक्षण अस्पताल–१

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान–२

३४७ जना घाइते

सिभिल अस्पताल– १००

वीर अस्पताल– ६

राष्ट्रिय ट्रमा सेन्टर– ५९

एभरेस्ट अस्पताल १०२, ८ रेफर

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान– ४

काठमाडौँ मेडिकल कलेज– ३७

नर्भिक अस्पताल– ३

त्रिवि शिक्षण अस्पताल– १८

गण्डकी मेडिकल कलेज–१

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान– २

विराट मेडिकल कलेज–४

दमक अस्पताल–७

-कृष्ण उप्रेती र दीपक आचार्य/सौर्य दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार