
इलाम : इलामको सन्दकपुर गाउँपालिकामा उपभोक्ता हित संरक्षण तथा उपभोक्ता शिक्षा सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
सन्दकपुर गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम गाउँपालिकाभित्रका जनप्रतिनिधि, कर्मचारी, स्थानीय सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न गरिएको हो ।
उपभोक्ताका अधिकार, बजार अनुगमन प्रणाली, वस्तु तथा सेवाको गुणस्तर सुनिश्चितता, मूल्य अनुशासन र उपभोक्ता सचेतनाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सन्दकपुर गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा सहभागीहरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उपभोक्ताका अधिकार तथा दायित्व, बजारमा हुने सम्भावित ठगी तथा अनियमितता पहिचान गर्ने तरिका, र स्थानीय तहको भूमिका सम्बन्धी विषयमा विस्तृत जानकारी दिइएको थियो ।
सहभागीहरूले उपभोक्ता सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
सन्दकपुर गाउँपालिका क्षेत्रमा उपभोक्ता हित संरक्षणलाई सुदृढ बनाउने उद्देश्यका साथ यस्ता अभिमुखीकरण कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।



















































