
इलाम : इलामको देउमाई नगरपालिका शनिबार पनि विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट क्रियाशील रह्यो । नगरपालिकाले शनिबार स्थानीय व्यवसायीसँगको समन्वयमा हाल बजार क्षेत्रमा भएको खाध्य सामाग्री विक्री वितरण गर्ने मुल्य सहितको विवरण अनिवार्य अभिलेख राख्ने र थप आवस्यक सामाग्री नगर क्षेत्रमा ढुवानी गर्न सहजीकरण गरेको छ ।
त्यस्तै कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि वडा स्तरीय तथा टोलस्तरिय कोभिड १९ रोकथाम तथा नियन्त्रण आपतकालिन समिति गठन गरेको छ ।
प्रत्येक वडामा सम्बन्धित वडा अध्यक्षको संयोजकत्वमा ५ सदस्यीय आपतकालनीन समिति गठन गरेको हो । समितिका सदस्य सचिवमा वडा सचिव र सदस्यहरुमा स्वास्थ्य संस्थाका प्रमुख, सुरक्षा निकायका प्रतिनिधी, नेतृत्व विद्यालयका प्रधानाध्यापक रहेका छन् ।
त्यस्तै टोल स्तरिय कोभिड १९ रोकथाम तथा नियन्त्रण आपतकालिन समिति वडा सदस्य (सम्भव भएसम्म) को संयोजकत्वमा स्थानीय समाजसेवी, सम्भव भएसम्म स्वास्थयकर्मी, सुरक्षाकर्मी, शिक्षक, कर्मचारीलगायत रहेका छन् ।
आपतकालीन समितिले लकडाउनको प्रभावकारी अनुगमन गर्ने, चहलपहल नियन्त्रण गर्ने, बाहिरी मुलुकबाट आएका व्यक्तिहरुको विवरण संकलन तथा हालको अवस्थाको जानकारी गराउने, सेल्फ क्वाराइन्टाइनमा बसिराखेका व्यक्तिहरुको अवस्था अध्यावधिक गराउने, टोल समितिले वडा समितिलाई वडा समितिले नगर स्तरिय समितिलाई प्रतिवेदन पेश गर्नेछ ।
समितिले शनिबार पनि देउमाई नगरपालिका क्षेत्रभित्र हालसालै बाहिरि मुलुकबाट आएका व्यक्तिहरुको निम्न अनुसार संख्या संकलन गरि जिल्ला प्रशासन कार्यालय इलाममा विवरण पठाएको छ ।
वडा नम्बर १ बाट ३ जना, वडा नम्बर २ बाट ३ जना, वडा नम्बर ३ बाट १ जना, वडा नम्बर ४ बाट ४ जना, वडा नम्बर ५ बाट १ जना, वडा नम्बर ६ बाट १ जना, वडा नम्बर ७ बाट ४ जना, वडा नम्बर ८ बाट ५ जना, वडा नम्बर ९ बाट ३ जना गरी जम्मा २५ जनाको विवरण पठाएको हो ।



















































