
फिदिम : ‘औषधि सबै सकियो,’ पाँचथरको कुम्मायक गाँउपालिका अध्यक्ष जयबहादुर चेम्जोङको दबाबमा भू्रणहत्या गर्न बाध्य बनेकि १९ बर्षिया दलित युवतिले औषधिका खोलहरु देखाउँदै भनिन् ‘साथमा एक रुपैँया पनि छैन । अब के गर्नु ?’
२१ हप्ताको भू्रणहत्या गर्न बाध्य बनेपछि आफन्तको कोठमा शरण लिएर बसेकी उनको स्वास्थ्यअवस्था नाजुक छ । खर्च अभावमा उनले थप औषधि खरिद गर्न सकेकि छै्रनन् । चेम्जोङले छोरीलाई घर ल्याउन नपाउने भनेर युवतिकी आमालाई धम्काएपछि उनी आफन्तको कोठामा शरण लिएर प्रतिकुल स्वास्थ्य र आर्थिक अभावसँग लडिरहेकी छन् ।
‘छोरीलाई घर ल्याउन पाँउदिनस भनेर आमालाई धम्काएका छन्,’ उनी विह्वह हुँदै भन्छिन् ‘हामीसँग धनसम्पति पनि छैन । अब मेरो भबिष्य के हुन्छ ? युवती सुकुम्बासि दलित परिवारकी हुन् । उनलाई आफ्नो भबिष्यप्रतिको ठूलो चिन्ता छ । घर जान नपाउने र आमालाई भेट्न नपाउने अध्यक्षको धम्किले उनी बेचैन छिन् । औषधि खरिद गर्ने पैसासमेत नभएपछि उनी अत्तालिएकी छन् । कम्बर दुख्ने र जिउ कर्कर खाएर गाह्रो भएको उनी बताउँछिन् । ओछ्यानबाट उठेर बस्न पनि कठिन भएको उनले सुनाइन् ।
फिदिमको सर्मपित अस्पतालमा युवतीको पेटमा हुर्किएको गर्भ फालिएको हो । अस्पतालले अब एक महिना पुगेपछि फलोअपमा आउन भनेको छ । ‘म सँग एक रुपैँया पनि छैन,’ उनी भन्छिन् ‘घर गएर आमालाई भेट्ने मन छ । तर, आमाछोरी भेट्न नपाउने अध्यक्षको शर्त छ ।’ खान, बस्न र औषधि खरिदका लागि पैसा नभएपछि उनलाई समस्या थपिएको हो ।
उजुरी नदिन अध्यक्ष दम्पतिको दबाब
अध्यक्ष चेम्जोङ र उनकी पत्नी बिमला चेम्जोङले आफूहरुबिरुद्ध उजुरी नदिन युवतीका आमालाई दबाब दिएका छन् । ‘उहाँहरुले उजुरबाजुर नगर्नु भन्नुभएको छ,’ युवतिकि आमाले फोन गरेर भनिन् ‘हामीलाई अप्ठ्यारोमा नपार्नु भन्नुभएको छ ।’
चेम्जोङकै कोठमा बोलाएर छोरीलाई फिदिमबाट तत्काल भगाउन समेत भनेको उनले बताइन् । ‘बिर्तामोडमा कोठा भाडा लिएर छोरीलाई राख्नु भन्नुभयो,’ उनले भनिन् ‘फिदिममा हुँदा छोरीलाई पत्रकारहरुले च्यापीसके ।’ अध्यक्ष दम्पतिले यो मुद्धालाई मित्रभित्रै मिलाउनुपर्ने शर्त राखेको पीडित परिवारको भनाई छ । तमोर खबर



















































