कार्यकाल सकिँदै गरेका राष्ट्रियसभा सदस्य के भन्छन् ?

  नयाँ बुलन्द
0 Shares

news

 

काठमाडौं : राष्ट्रियसभामा आफ्नो दुईवर्षे कार्यकाल सकाएर बिदा हुने तरखरमा रहेका सदस्यहरुले राष्ट्रियसभाले राम्रोसँग काम गरेको जिकिर गरेका छन् ।

संविधानले व्यवस्था गरेअनुसार नै राष्ट्रियसभाले अलग पहिचान बनाएर काम गर्न सफल भएको उनीहरुको भनाइ छ ।

राष्ट्रियसभामा रहेका एकतिहाइ सदस्यको आगामी फागुन २० गतेबाट कार्यकाल सकिँदैछ ।

बिहीबार निर्वाचित भएर आउने सदस्यहरुले सपथ खाएसँगै १८ जना राष्ट्रियसभा सदस्यको पदावधि सकिने हो ।

२०७२ सालको नेपालको नयाँ संविधानले गरेको व्यवस्थाअनुसार राष्ट्रियसभाको यो पहिलो कार्यकाल हो ।

यो कार्यकालमा गोलाप्रथा गर्दा दुई वर्षमात्र काम गर्ने समयावधि पाएका सदस्यहरु आफ्नो कार्यकाल निकै राम्रो बनेको बुझाइमा छन् ।

स्थानीय तह र प्रदेशको प्रतिनिधित्व हुने यो सभामा ती क्षेत्रहरुको सरोकार रहनेगरी कानुन बनाउँदा निकै चनाखो भएर उनीहरुको हितमा काम गर्न सकिएको विपक्षी राजपाका राष्ट्रियसभा दलका नेता वृशेषचन्द्र लाल बताउँछन् ।

राष्ट्रियसभा कतिपय अवस्थामा प्रतिनिधिसभाको छाया बन्यो भन्ने आरोप पनि यो बीचमा नलागेको होइन ।

तर, सत्तारुढ नेकपाका सांसद कालीबहादुर मल्ल सत्ता र विपक्षी नभनिकनै राष्ट्रियसभाले ठूला मुद्दामा साझा प्रस्ताव बनाएर सरकारलाई ध्यानाकर्षण गरेको बताउँछन् ।

दुईवर्षे कार्यकाल सकिनेक्रममा रहेका दुवै सदस्यहरु राष्ट्रियसभा पुग्दा नयाँ अनुभव र शिक्षा मिलेको बताउँछन् ।

आफूहरुले राष्ट्रियसभाबाट देश र जनतालाई दिनसक्ने योगदान पूर्णरुपमा दिएको उनीहरुको भनाइ छ ।

कतिपय अवस्थामा सांसदहरु भनेका विकास निर्माणका लागि पनि काम गर्ने प्रतिनिधिहरु हुन् भन्ने बुझाइ हामीकाहाँ छ ।

तर, नयाँ शासन व्यवस्थासँगै आएका कतिपय प्रावधानले भने त्यसलाई खुम्च्याइदिएको सांसदहरुको बुझाइ छ । अझ राष्ट्रियसभा सदस्यहरुको त यसमा बढी नै गुनासो सुनिन्छ ।

अन्य कुरामा भने आफूहरुले निभाएको भूमिकामा सबै सदस्यहरु खुसी नै देखिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार